परबलको व्यावसायिक खेती

वीरगन्ज : पर्साको सुदूर उत्तरी क्षेत्रका किसानले परवलको व्यावसायिक खेती सुरु गरेका छन् । थोरै लगानी, कम सिँचाइ र थोरै मिहिनेतमा वर्षको ६ महिनासम्म लगातार उत्पादन लिन सक्ने भएकाले पछिल्ला वर्षमा परवलखेती गर्न किसान अग्रसर भएका हुन् । आन्तरिक खपतबाट बाँकी रहेको परवल र अन्य तरकारी भारत पठाएर जिल्लाका किसानले प्रशस्त आम्दानीसमेत गरेका छन् ।
धान, मकै, कोदोलगायत अन्नबालीका लागि पर्याप्त सिँचाइ सुविधा नपुगेपछि पर्साका बिरुवागुठी र महुवनका किसान व्यावसायिक रूपमा परवललगायत अन्य तरकारीखेतीमा आकर्षित भएका हुन् । परवलको बिरुवा एकपटक रोपेपछि त्यसले झन्डै चार वर्षसम्म वर्षको ६ महिना लगातार उत्पादन दिन्छ, परवल खेती गर्ने किसान भन्छन, ‘अन्नबालीका लागि पर्याप्त सिँचाइ सुविधा नपुगेका खेतमा परवलको व्यावसायिकखेती गर्दा यसले प्रशस्त आम्दानी दिने गर्छ ।’
करिब १२ कठ्ठा खेतमा गरेको परवलको व्यावसायिकखेतीबाट सबै खर्च कटाएर वार्षिक डेढ लाखदेखि दुई लाख रुपियाँ आम्दानी गर्न सफल भएको पर्सा बिरुवागुठी—७ का कृषक रुक्मणी चौधरीले भनिन्, ‘परवलखेतीको आम्दानीबाट आºना छोराछोरीलाई राम्रो शिक्षा दिएकी छु । यसकै आम्दानीले पाँच जनाको परिवारलाई खाने लगाउने समस्या छैन ।’
यस क्षेत्रमा उत्पादित परवलमध्ये ८० प्रतिशत वीरगन्ज, काठमाडौं र भारततर्फ निकासी हुने गरेको छ । बाँकी २० प्रतिशत स्थानीय बजारमा खपत हुने गरेको किसानहरू बताउछन् । मनग्य आम्दानी हुने भएपछि पछिल्ला वर्षमा परवलखेती गर्ने किसानको संख्यामा उल्लेखनीय वृद्धि भएको दाबी स्थानीय कृषकको छ ।
खुला आकाशमुनि तरकारी लगाउँदा हिउँदयाममा पर्याप्त सिँचाइ नहुँदा तरकारीमा लाग्ने र फुल्न थालेपछि बोटै ओइलाउने गरेको किसानको भनाइ छ । किसानलाई बेलामै सिँचाइका लागि उपयुक्त योजना ल्याउनुपर्ने र बेलाबेलामा प्राविधिकले अनुगमन गरी रोग निदान गरेमा यो क्षेत्रमा परवलखेतीका लागि गरेको कडा परिश्रम र मिहिनेत खेर नजाने दाबी स्थानीय किसानको छ । जोखिम मोलेर भए पनि तरकारीखेती गर्दा मकै, गहुँजस्ता बालीभन्दा सयौँ गुणा बढी आम्दानी हुन सक्ने अनुभव यहाँका किसानको छ ।

प्रतिक्रिया