श्रेया, शिरीष र मिराज स्पेन पौडीका लागि छनोट

काठमाडौं, ६ असार । शिरीष गुरुङ र श्रेया धितालले अठारौँ खुला पौडी प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन बुधबार थप दुई स्वर्ण जितेका छन् । शिरीषले पुरुषको ४ सय र १ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै व्यक्तिगत स्वर्ण संख्या ५ पुर्‍याए । त्यसमा एक कीर्तिमानी स्वर्ण पनि समावेश छ । उनले १ रजत पनि हात पारे ।

यसका साथै यसै प्रतियोगिताबाट शिरीष, श्रेया र मिराज प्रजापती स्पेनको बार्सिलोनामा हुने फिना विश्व पौडी च्याम्पियनसिपका लागि छनोट भएको नेपाल पौडी संघले जनाएको छ । ‘फिना प्वाइन्ट’ का आधारमा खेलाडीत्रयले स्पेनको टिकट पक्का गरेका हुन् । १८औँ खुला पौडी विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न आयोजना गरिएको हो । विश्व च्याम्पियनसिप जुलाई १९ देखि अगस्ट ४ तारिखसम्म सञ्चालन हुनेछ ।
बुधबार शिरीषले ४ सय मिटर दूरी ५ मिनेट २१.९७ सेकेन्डमा पूरा गरे भने १ सय मिटर दूरी पार गर्न १ मिनेट ०१.०० सेकेन्ड समय खर्चे । ४ सय मिटरमा देवेश मानन्धर दोस्रो र विसन क्षत्री तेस्रो भए । १ सयमा मिराज प्रजापती दोस्रो तथा दिलिप थापा तेस्रो भए ।
नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको १ सय मिटर बटरफ्लाई र १ सय मिटर ब्याकस्ट्रोकमा श्रेयाले स्वर्ण चुमिन् । श्रेयाले बटरफ्लाइमा १ मिनेट २३.३३ सेकेन्ड र ब्याकस्ट्रोकमा १ मिनेट ३०.२३ सेकेन्ड समय लगाइन् । अघिल्लो दिन श्रेयाले २ कीर्तिमानी स्वर्ण जितेकी थिइन् ।
बटरफ्लाइमा दिवा राणाले रजत हात पारिन् भने स्वस्ति श्रेष्ठले कांस्यमा चित्त बुझाइन् । ब्याकस्ट्रोकमा शिला गुरुङ दोस्रो र ओशिना भारती तेस्रो भए । सोनिरा विष्ट पनि दुई स्वर्ण हात पार्न सफल भइन् । सोनिराले महिलाको २ सय मिटर ब्रेस्टस्ट्रोक (३ मिनेट ३२.१२ सेकेन्ड) र ५० मिटर ब्रेस्टस्ट्रोक (४३.६५ सेकेन्ड) मा शीर्ष स्थान कब्जा गरिन् । ब्रेस्टस्ट्रोकको २ सयमा रोजा केसी दोस्रो र इभा काफ्ले तेस्रो भए भने ५० मिटरमा अदिती धिताल दोस्रो र अन्जली स्याङ्बो तेस्रो स्थानमा रहे ।
सातदोबाटोस्थित पौडी पोखरीमा भएको महिलाको २ सय मिटर फ्रिस्टायलमा श्रेयाकी बहिनी अदिती पहिलो भइन् । अदितीले निर्धारित दूरी २ मिनेट ४१.१२ सेकेन्डमा तय गरिन् । श्रेया दोस्रो स्थानमा सीमित भइन् भने रशिका पौडी तेस्रो भइन् ।
पुरुषको १ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रवेश अधिकारी पहिलो भए । निर्धारित दूरी सक्न उनले १ मिनेट २३.७३ सेकेन्ड समय निकाले । जनक राई दोस्रो तथा संरक्षण थापा तेस्रो बने । पुरुषको ५० मिटर बटरफ्लाइमा ३०.२५ सेकेन्ड समय खर्चंदै गोविन्द कार्की पहिलो भए । प्रथम राष्ट्रिय विद्यालय खेलकुदका उत्कृष्ट पौडीवाज मनीष चित्रकार दोस्रो तथा जयन्तप्रकाश गुरुङ तेस्रो भए ।
५० मिटर ब्याकस्ट्रोकमा भने जयन्तले सबै प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण हात पारे । उनले ३५.६३ सेकेन्ड समय लगाए । चित्रबहादुर पौडेल दोस्रो र मोहितलाल श्रेष्ठ तेस्रो भए । महिलाको ५० मिटर फ्रिस्टायलमा सोफिया शाह (३२.०० सेकेन्ड) शीर्ष स्थानमा रहिन् । अन्जली स्याङ्बो दोस्रो र अदिती धिताल तेस्रो भए । दुईदिने प्रतियोगितामा ८२ पुरुष र ४४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया