चार दलीय संयन्त्र नै देशको बाधक : थापा

बर्दिबास, ६ असार । देशमा बढिरहेको राजनीतिक अस्थिरताको मुख्य बाधक चार दलीय संयन्त्र रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् ।

चार दलीय संयन्त्रकै सिन्डिकेटका कारण अन्य पार्टीहरू विरोधमा उत्रनु परेको थापाले दाबी गरे । पार्टी कार्यकर्ता प्रवेश कार्यक्रममा सम्बोधन गर्न महोत्तरीको बर्दिबास आइपुगेका थापाले अन्य दलले जतिसुकै विरोध गरे पनि चुनाव भइछाड्नेसमेत दाबी गरे । थापाले ठूला पार्टीको नालायकिपनका कारण निजामती कर्मचारीले देशको बागडोर सम्हाल्नु परेको तर्क गरे । साथै उनले राप्रपा नेपालले नौ वर्षदेखि राष्ट्रियताको सवालमा संघर्ष गर्दै आइरहेकाले अब फेरि जनताले आफ्नै पार्टीलाई भोट हाल्नेसमेत विश्वास व्यक्त गरे ।
नेपाली जनताले २०६२।६३ देखि नयाँ पार्टीको राजनीति देखेर थाकेको अध्यक्ष थापाको भनाइ छ । चुनावको विरोधमा उत्रेका दलहरूलाई लक्षित गर्दै थापाले विरोधको बाटो बदलेरअघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया