शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

Pinki-Kumari-Yadavराजविराज, ६ असार । सप्तरीको नकटी रायपुरस्थित बुधेश्वरी निमाविका एक शिक्षकले अक्षर नराम्रो लेखेको भन्दै पेटेपछि कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रा घाइते भएकी छिन् । मंगलबार गृहकार्य जाँच गर्ने क्रममा अंग्रेजी विषयका शिक्षक देवनारायण साहले छात्रा पिंकी कुमारी यादवलाई कुटपिट गरी घाइते बनाएका हुन् । टाउको, घाँटी, अनुहार, हात र खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी छात्राको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शिक्षक साहले ‘जति सम्झाए पनि कहिल्यै नसुध्रने’ पिटेका थिए । कुटपिटका कारण बेहोस भएपछि उनलाई अभिभावकले मंगलबार साँझ अस्पताल पुर्‍याएका थिए । टाउकोमा चोट लागेकोले उनको नाकबाट रगत बगेको उपचारमा संलग्न डा. टेकनारायण मण्डलल बताए । पिंकीका पिता बच्चालाल यादवले दोषी शिक्षकलाई कारबाहीको माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय तथा जिल्ला शिक्षा कार्यालय सप्तरीमा उजुरीसमेत दिएका छन् । सभ्यता र संस्कार सिकाउने मन्दिरको रूपमा मानिएको विद्यालयका शिक्षकले नै कुटपिट गर्न थालेपछि ढुक्क भएर छोराछोरी पढ्न पठाउनसमेत गाह्रो भएको उनले गुनासो गरे । तीन महिनाअघि सदरमुकाम राजविराजस्थित होलिक्रश बोर्डिङ स्कुलका प्रिन्सिपल सञ्जय शर्माले गृहकार्य नगरेको भन्दै एक १५ वर्षीय छात्रलाई रूखमा बाधेर कुटपिट गरेका थिए । अन्य केही शिक्षक र कर्मचारीको सहयोगमा विद्यालय प्रांगणमै रहेको रूखमा डोरीले बाधेर कुटपिट गर्दा ती बालक घाइते भएका थिए । यसैबीच, इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेल, बालअधिकारकर्मी सुरेन्द्रप्रसाद गुप्ता, सञ्चार यात्रा नेपालकी अध्यक्ष करूणा झा, युवा सशक्तीकरण संघ नेपालका अध्यक्ष किशोरकुमार यादव अधिकारकर्मी प्रकाश खतिवडालगायतले बुधबारै छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको विरोध गर्दै शिक्षकमाथि कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया