राहत र उद्धार कार्यसंगै लैजान निर्देशन

Baluwatarकाठमाडौं, ५ असार । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बाढी पीडितलाई राहत र उद्धार कार्यसंगसंगै लैजान मातहतका निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको विपत् व्यबस्थापन समितिको बैठकमा रेग्मीले बाढीबाट थप क्षति हुन नदिन तदारुपकताका साथ सबै निकाय परिचालन गर्न समेत निर्देशन दिए । नेपालको पश्चिम भागमा केहि दिनदेखिको अविरल बर्षासंगै बाढी तथा पहिरोका कारण ठूलो धनजनको क्षति भईरहँदा समेत सरकार  राहत तथा उद्धार कार्यमा गम्भिर नभएको स्थानीयले आरोप लगाईरहेका बेला अध्यक्ष रेग्मीले विपत् व्यबस्थापन समितिको बैठक बोलाएका हुन् । उनले परराष्ट्रमन्त्री समेत रहेका गृहमन्त्री माधव घिमिरेसंग बाढी पहिरोबाट भएको धनजनको क्षति र उद्धार कार्यका बारेमा जानकारी मागेका थिए । मन्त्री घिमिरेले बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायलाई उद्धारमा परिचालन गरिएको र लुगाकपडाका साथै खानेकुरा र औषधि पठाइसकिएको जानकारी गराएका थिए ।
बाढीपहिरो प्रभावित क्षेत्रमा रकम परिचालन गर्न प्रधानमन्त्री अन्तर्गत प्रम राहत कोषमा ४० करोड रुपियाँ राख्ने निर्णय भएको छ । यस्तै मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति ४० हजार रुपियाँ उपलब्ध गराउने निर्णय समेत भएको छ ।  बैठकमा सचिवका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागि थिए ।

प्रतिक्रिया