मनीष र अन्जली उत्कृष्ट पौडीवाज

काठमाडौं, ५ असार । प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) को पौडीतर्फ जुनियरको छात्रमा मनीष चित्रकार र छात्रामा अन्जली स्याङबो मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सब जुनियरको छात्रमा शुभम् श्रेष्ठ र छात्रामा ओशिना भारती उत्कृष्ट ठहरिए । पौडीको अन्तिम दिन मनीषले १ सय मिटर ब्याकस्ट्रोक (१ मिनेट २३.५० सेकेन्ड), १ सय मिटर बटरफ्लाइ (१ मिनेट १८.५०), ५० मिटर फ्रिस्टायल (२९.०४ सेकेन्ड) तथा ५० मिटर ब्रेस्टस्ट्रोक (३८.४१ सेकेन्ड) मा स्वर्ण जिते । अन्जलीले १ सय मिटर फ्रिस्टायल (१ मिनेट २१.१६ सेकेन्ड), ५० मिटर बटरफ्लाइ (४४.०४ सेकेन्ड) र ५० मिटर ब्याकस्ट्रोक (४३.०५ सेकेन्ड) मा स्वर्ण चुमिन् । जुनियरकै छात्रा १ सय मिटर ब्रेस्टस्ट्रोकमा शिला गुरुङ पहिलो भइन् । शिलाले निर्धारित दूरी १ मिनेट ४२.२२ सेकेन्डमा पूरा गरिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको सब जुनियरको छात्रामा ओशिनाले १ सय मिटर फ्रिस्टायल (१ मिनेट १६.४० सेकेन्ड), ५० मिटर बटरफ्लाइ (३८.२३ सेकेन्ड) र ५० मिटर ब्याकस्ट्रोक (४३.१५ सेकेन्ड) मा पहिलो भइन् । छात्रमा शुभम् श्रेष्ठले ५० मिटर फ्रिस्टायल (३३.७३ सेकेन्ड) र ५० मिटर ब्रेस्टस्ट्रोक (४२.३५ सेकेन्ड) मा पहिलो स्थान हात पारे । छात्रको ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा मध्यमाञ्चलले शीर्ष तीन स्थानमाथि कब्जा जमायो ।
भलिबल : मध्यमाञ्चललाई स्वर्ण
छात्र भलिबलको उपाधि पनि मध्यमाञ्चलले जित्यो । यसअघि छात्रामा पनि मध्यमाञ्चल पहिलो भएको थियो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चलमाथि २५–२१, २१–२५, २१–२५, २५–१७ र १५–७ को संघर्षपूर्ण जित हात पार्‍यो । पूर्वाञ्चल तेश्रो भयो ।
बुद्धिचाल
सुदेशा हाइस्कुल, नख्खुमा संचालित बुद्धिचालको छात्र यु–१२ समुहमा सुदुरपश्चिमान्चलको एभरेष्ट एकेडेमी, कैलालीका महेश खड्का प्रथम, मध्यमान्चलको अन्नपूर्ण उमाबिका मिलन लामा दोश्रो र मध्यमान्चलकै अपी स्कुलका बिदित प्रताप सिंह तृतीय भए । त्यस्तै यु १४ मा मध्यमान्चलको ल्याबोरेटरी किर्तिपुरका विवेक श्रेष्ठ प्रथम, दिपज्योति गोंगबुका विकास थोकर द्धितीय र ख्वप्रिङ्ग भक्तपुरका प्रविश प्रजापति तृतीय भएका छन् । त्यसैगरी छात्र यु १६ तर्फ मध्यमान्चलको अन्नपूर्णका विकेश जैसवालले स्वर्ण, ख्वप्रिङ्ग भक्तपुरका राज प्रजापतिले रजत र स्वर्णिमका शेषन श्रेष्ठले कांस्य पदक हासिल गरे ।
दुईदिने प्रतियोगितामा छात्रातर्फ मध्यमान्चलले सबै पदक कब्जा जमाए । छात्रा यु १२ मा अन्नपूर्णकी खुस्बु जैसवालले स्वर्ण, ग्रीनल्याण्डकी अनुषा पाण्डेले रजत र स्वर्णिमकी रीया शाक्यले काास्य पदक हात पारिन् । त्यस्तै यु १४ मा ग्रीनल्याण्डकी निरुजा घिमिरे प्रथम, लिभिङ्ग स्टोन ललितपुरकी अनु घिमिर द्धितीय र ख्वप्रिङ्ग भक्तपुरकी अन्जना बोहजु तृतीय भइन् । त्यसैगरी छात्रा यु १६ तर्फ स्वर्णिमकी कुमुदिनी पन्तले स्वर्ण, दिपज्योतिकी भुमिका घर्तिमगरले रजत र अन्नपूर्णकी उर्जा अधिकारीले काास्य पदक प्राप्त गरिन् ।
टेबलटेनिस : गीता सिंगल्स च्याम्पियन
टेबलटेनिसको छात्रा सिंगल्सको उपाधि पश्चिमाञ्चलकी गीता अर्यालले जितिन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा गीताले आफ्नै क्षेत्रकी सुकृति श्रेष्ठलाई ११–९, ३–११, ११–८ र ११–८ को सेटमा पाखा लगाइन् । पूर्वाञ्चलकी गीता भुजेल र मध्यमाञ्चलकी सोनु थापा मगर संयुक्त रुपमा तेश्रो भए । छात्र सिंगल्सको खेल बुधबार सम्पन्न हुनेछ ।
ब्याडमिन्टनमा मिश्रित नतिजा
खुला ब्याडमिन्टनतर्फ सहभागी पााच विकास क्षेत्र मध्ये चारले एक–एक स्वर्ण जितेका छन् । मध्यमाञ्चल, पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलले एक–एक स्वर्ण बााडे । मध्यपश्चिमाञ्चल स्वर्ण विहीन रह्यो । ब्याडमिन्टनमा यु–१४ र यु–१६ उमेरसमूहमा छात्र/छात्राको एकलमा गरी जम्मा चार स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
लगनखेलस्थित आर्मी तालिम तथा खेलकुद केन्द्रमा भएको यु–१४ छात्र सिंगल्सको सबै पदक मध्यमाञ्चलले क्लिन स्विप गर्‍यो । प्रफुल्ल महर्जन पहिलो भए । फाइनलमा उनले रुकेश महर्जनलाई २१–१३ र २१–११ को सोझो सेटमा पराजित गरे । प्रिन्स दाहाल र पविन लिन्छेपले तेश्रो स्थानमा चित्त बुझाए ।
यु–१४ छात्रा सिंगल्समा पश्चिमाञ्चलकी समिक्षा न्यौपानेले मध्यमाञ्चलकी श्रदेय प्रधानलाई फाइनलमा २६–२४ र २३–२१ को सीधा सेटमा निराश पार्दै स्वर्ण कब्जा गरिन् । मध्यमाञ्चलका सम्झना लामा र प्रीति सिंह संयुक्त रुपमा तेश्रो स्थानमा रहे । सुदूरपश्चिमाञ्चलकी गंगा विष्ट यु–१६ छात्र सिंगल्स च्याम्पियन बनिन् । फाइनलमा गंगाले मध्यमाञ्चलकी जेशिका गुरुङको चुनौती २१–१९ र २१–१२ ले समाप्त पारिन् । मध्यमाञ्चलका रोजिना कार्की र स्तर खड्का तेश्रो बने ।
त्यसै स्पर्धाको छात्रमा पूर्वाञ्चलका श्रवण श्रेष्ठले शीर्ष स्थान हात पारे । उपाधि भिडन्तमा श्रवणले सुदूरपश्चिमाञ्चलका गौतम कठायतमाथि १६–२१, २१–६ र २१–१५ को जित निकाले । मध्यमाञ्चलका निरविक्रम देवकोटा र मध्यपश्चिमाञ्चलका रियाज अन्सारी तेश्रो स्थानमा सीमित भए ।
जेठ २८ गतेदेखि सुरु नेपाली खेलकुदको मिनी ओलम्पिकमा १३ खेलमा १२ देखि १६ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया