रातो प्लेटका गाडीले यात्रु बोक्न नपाउने

सोलुखुम्बु, ५ असार । रातो नम्बर प्लेट भएका सवारीसाधनले सोलुखुम्बुमा अबदेखि भाडामा यात्रु ओसार्न नपाउने भएका छन् ।

व्यक्तिगत सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था भएको भए पनि यसअघि जिल्लामा सञ्चालन भएका भाडाका जिप प्राय: सबैजसो रातो नम्बर प्लेटका छन् ।
अबदेखि रातो नम्बर प्लेटका सवारीसाधनलाई यात्रु बोकेर हिँड्न नपाइने व्यवस्थालाई कडाइका साथ लागू गर्न प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताए । गत ३१ जेठमा सल्लेरीबाट ओखलढुंगाको हर्कपुरका लागि हिँडेको रातो नम्बर प्लेटको जिप ओखलढुंगामा दुर्घटनामा परेपछि यात्रुको बिमा नहुने समस्या आएपछि प्रशासनले सो नियमलाई कडाइका साथ लागू गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
सदरमुकाम सल्लेरीदेखि सिन्धुलीको नेपालथोकसम्म अस्थायी बाटो भएकाले त्यहाँ रातो नम्बर प्लेटका यातायातका साधन मनपरी गुडिरहेका छन् । उक्त बाटोमा दुर्घटना हुँदा बारम्बार समस्या आएपछि अब जिल्लाभित्र कहीँ पनि रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने व्यवस्थालाई कडाइ गरिएको प्रजिअ कार्कीको भनाइ छ ।
सोलुखुम्बुमा हाल सिटी भिलेज यातायात व्यवसायी संघ, दूधकुण्ड यातायात व्यवसायी संघ र हिमगंगा यातायात व्यवसायी संघअन्तर्गत र केही निजी जिपले पनि सल्लेरी, काठमाडौं, ओखलढुंगा, उदयपुरको घुर्मी, कटारीलगायत पूर्वका विभिन्न ठाउँ र जिल्लाभित्रका विभिन्न स्थानमा सेवा दिँदै आएका छन् । सबै जिप रातो प्लेटका हुन् ।

प्रतिक्रिया