ढुंगा–गिटीको निकासी खुल्यो

भैरहवा, ५ असार । रूपन्देहीमा ११ महिनादेखि रोकिएको गिटी ढुंगा विदेश निकासीलाई जिल्ला अनुगमन समितिले स्वीकृती दिने निर्णय गरेको छ । समितिको मंगलबार भैरहवामा बसेको बैठकले लामो समयसम्म विदेश निकासी रोकिँदा व्यवसायी मारमा परेको तथा व्यवसायीले आन्दोलन गरिरहेको सन्दर्भलाई मध्यनजर गर्दै निकासी गर्न दिने निर्णय गरेको अनुगमन समितिका संयोजक तथा सिडिओ बालकृष्ण पन्थीले जनाए । पन्थीले रितपूर्वक नवीकरण भएका र स्वीकृत कोटामा नबढ्ने गरी, असार मसान्तसम्म विदेश निकासी गर्न जिविसलाई अनुगमन समितिको बैठकले सिफारिस गर्ने निर्णय गरेको बताए । अनुगमन समितिको बैठकको निर्णयसँगै विदेश निकासीको प्रक्रिया सुरु भएको एलडिओ पेसलकुमार पोखरेलले जनाए । पोखरेलले भने, ‘मंगलबार अनुगमन समितिले खोल्ने सिफारिस गरेको छ । यसै सम्बन्धमा बुधबार राजनीतिक दलका प्रतिनिधि र जिविसको बोर्ड बैठक बसेपछि मात्रै टुंगो लाग्छ ।’ यता रोडा ढुंगाको विदेश निकासी खोलिने भएपछि जिविसका केही अधुरा योजना पनि पूरा हुने देखिएको छन् । जिविसका योजना अधिकृत कुमार क्षेत्रीका अनुसार असार मसान्तसम्म कम्तिमा डेढ करोड राजस्व ढुंगा गिटीको विदेश निकासीबाट संकलन हुनेछ जसबाट जिविसको विकास योजनामा सहयोग पुग्नेछ ।

जिल्ला अनुगमन समितिमा सिडिओ, एलडिओ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, घरेलुको प्रमुख, वनको प्रमुख, भूसंरक्षणको प्रमुख तथा सम्बद्ध कार्यलयका प्रमुख हुने गर्दछन् । यता ढिलै भए पनि अनुगमन समितिले विदेश निकासी खोलेर राहत प्रदान गरेको व्यवसायीले बताएका छन् । रोडा ढुंगा व्यवसायी संघ रूपन्देहीका अध्यक्ष शिवकुमार पाठकले ढिलै भए पनि अनुगमन समितिले खोल्ने निर्णय गरेकोले केही राहत मिलेको बताए । काटेको घाउमा टिटानसक सुई लगाए जस्तै भएको अध्यक्ष पाठकले प्रतिक्रिया दिए । वित्तीय संस्थाले च्यापिरहेको बेला विदेश निकासी खोलेर व्यवसायीलाई अनुगमन समितिले बाच्ने आशा बढाइ दिएकोमा नेपाल रोडा ढुंगा व्यवसायी महासंघका संयोजक कृष्णप्रसाद शर्माले जनाए । संयोजक शर्माले भने, ‘११ महिनासम्म उद्योग बन्द हुँदा झण्डै एक दर्जन उद्योग विस्थापित भए । तर, ढिलै भए पनि समितिले सही निर्णय गरेकोमा हामी खुसी छाँै ।’
११ महिनादेखि उद्योग बन्द रहदा व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको अवस्थामा अनुगमन समितिले विदेश निकासी खोलेर बैंकको व्याज तिर्न घरखेत लिलाम गर्ने अवस्थामा पुगेका व्यवसायीलाई राहत मिलेको क्रसर व्यवासायी शम्भु खनालले बताए । यता रोडा ढुंगा निकासीलाई स्वीकृत दिएसँगै व्यवसायीले घोषणा गरेका आन्दोलन पनि फिर्ता लिएका छन् । राज्यले ढिलै भए पनि हाम्रो मागको सुनावाइ गरेकोमा हामी सबै आन्दोलनका कार्यक्रम फिर्ता गरी व्यवसायमा केन्द्रित हुने व्यवसायीद्वारा गठित आन्दोलन समितिका संयोजक गोपाल ज्ञवालीले बताए ।
यसअघि अदालतमा मुद्दा चलेको कपिलवस्तु र अर्घाखाँचीको निकासी सुरु भइसकेको छ । रूपन्देहीमा ४० वटा क्रसर उद्योग छन् भने यो व्यवसायमा पाँचदेखि सात अर्बको लगानी रहेको छ । करिब १५ हजार मजदुर यसमा प्रत्यक्ष आश्रित रहेका छन् । अप्रत्यक्ष रूपमा हजाराँै परिवार आश्रित रहेको छ । बैंक तथा वित्तीय क्षेत्रको लगानी करिब ६० देखि ७० प्रतिशत रहेको व्यवसायी विकास नारायण श्रेष्ठले जनाए । रूपन्देहीमा २२ हजार आठ सय घनमिटर क्रसरबाट उत्पादित गिटी बालुवा स्वीकृत मौज्दातको रूपमा रहेको छ ।

प्रतिक्रिया