वर्षाका कारण जनजीवन प्रभावित

राजविराज, ५ असार । गए रातिदेखि परेको अविरल वर्षाका कारण सप्तरीको कठौना–पातो सडकखण्ड अवरूद्ध भएपछि जिल्लाको पश्चिम–दक्षिणी भेगका दर्जनाँै गाविसका सर्वसाधारण प्रभावित भएका छन् । पातोदेखि सदरमुकाम राजविराजसम्म २८ किलोमिटरको उक्त सडकखण्डमा ठूलठूला खाल्डा परेर पानी जमेपछि यातायात अवरुद्ध भएको हो । पातोबाट दैनिक तीनवटा बस सदरमुकाम आउने गरेकोमा वर्षौदेखि जीर्ण सडक हिलाम्मे भएपछि गाडी चलाउन नसकिएको यातायात व्यवसायी बताउँछन् । सडक मर्मतको काम तत्काल नगरिए र वर्षा नरोकिएसम्म यातायातको सुनिश्चितता नहुने उनीहरूको भनाइ ।

गाडी बन्द भएपछि अर्नाहा, वनौली, रामपुर जमुवा, नर्घो, वनैनीया, मोहनपुर, पातो, भुतही, औरही, तरही, कविलासा, ब्रम्हपुर, वनरझुल्लालगायत गाविसका सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । गाडी नचलेका कारणले दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या हुने सम्भावना बढेपछि एकै दिनमा बजारमा पाइने समानको समेत मूल्य वृद्धि भएको पातोका स्थानीयवासी श्यामसुन्दर यादवले जानकारी दिए । दुई दिनअघि नै बजारमा आपूर्ति हुनु पर्ने पेट्रोलियम पदार्थ बिहानदेखि अविरल वर्षाका कारण गाडी चल्न नसकेपछि रोकिएको स्थानीय व्यापारीहरूले बताउने गरेको उनले जानकारी दिए । बाटो खुल्ने निश्चित नभएका कारण उपलब्ध दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको स्थानीयले गुनासो गरे ।

प्रतिक्रिया