प्रधानाध्यापकका कारण विद्यालय अस्तव्यस्त

School-Saptariराजविराज, ५ असार । सप्तरीको खोक्सर प्रवाहस्थित राष्ट्रिय प्राथमिक विद्यालयका निमित्त प्रधानाध्यापक कुनदेव यादव विद्यालयको साँचोसमेत लिएर छोराको विवाहमा हिँडेपछि पाँचवटा कक्षाका बालबालिका पठनपाठनबाट बञ्चित भएका छन् । शिक्षक यादव ५ असारमा छोराको विवाह भन्दै आइतबा साँचो लिएर हिडेपछि विद्यालयको पठनपाठन पूर्णरुपमा प्रभावित भएको हो ।

साँचो नभएका कारण सोमवार विद्यालय आएका शिक्षकले हाजिरीसमेत गर्न नपाएपछि त्यसै फर्किनु परेको शिक्षक पर्शुराम यादवले वताए । उनले भने, ‘केहीबेर पाँचवटै कक्षाक बालबालिकालाई झ्याबाट छिराएर एउटा कोठामा राख्याँै, कार्यालय नै नखुलेपछि उनीहरूको पनि हाजिरी गर्न सकिएन ।’
दुई वर्षअघि प्रधानाध्यापक तारणीप्रसाद देवले उमेरका कारण अवकास लिएपछि यादवले निमित्त प्रअको जिम्मेवारी पाएका हुन् । उनी जिम्मेवारीमा आएपछि बढीजसो समय घरमै रहने र विद्यालयको काममा चासो नदिने गरेका कारण करिब एक सय विद्यार्थीको बिग्रेको स्थानीय अभिभावक मोरहमान अली बताउँछन् । उनी भन्छनन्, ‘साचो आफूले मात्र राख्नु प्रअको गैरजिम्मेवारी हो । आफू विद्यालय नआउने भएपछि अन्य शिक्षकलाई साँचोसम्म नदिनुले उनको एकलौटी सोच प्रष्ट भएको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्देश्वर यादवले पनि यादवले आफूहरूको कुरा नसुनी अटेर गर्ने गरेको आरोप लगाए । विद्यालयलाई व्यवस्थापन समिति र शिक्षकसहितको समन्वयबाट सञ्चालन गर्नु पर्नेमा निजी घर झै सञ्चालन गरेको उनको आरोप छ । प्रअ नै समयमा विद्यालय नआउने गरेका कारण विद्यालय समयमा सञ्चालन नहुने गरेको समेत अभिभावकको गुनासो छ । विद्यालयमा अवस्था लथालिंग हुन थालेपछि कतिपय बालबालिका छिमेकी गाविसमा रहेका विद्यालयमा पढ्न जान थालेका छन् ।
विद्यालयमा कक्षा कोठासमेतको अभाव भए पनि निमित्त प्रअको बेवास्ताका कारण विद्यालय विकासका लागि विभिन्न क्षेत्रबाट आएको सहयोग रकमसमेत सदुपयोग हुन नसकेको अभिभावकको गुनासो छ । एउटा कक्षा कोठा निर्माण सुरु भए पनि झ्यालढोका नलगाइएपछि गाउँलेले भैंसी ल्याएर बाध्न थालेको शिक्षक बताउँछन् । विद्यालयको अवस्था लथालिंग हुन थालेपछि व्यवस्थापन समितिका तर्फबाट जिल्ला शिक्षा अधिकारीलाई भेटेर सोमबारै यसबारे जानकारी दिइएको समितिका अध्यक्ष विन्देश्वर यादवले बताए । जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले यस विषयमा निरीक्षण गर्ने आश्वासन दिएको यादवले जनाएका छन् ।

प्रतिक्रिया