यी उम्मेदवार बन्न नपाउने भए

Khum-Bahadur-Khadkabalkrishnajpchiranjivee wagleकाठमाडौ, ५ असार । अघिल्लो संविधानसभाको चुनावमा प्रभावशाली मानिएका केही दलका मुख्य नेताहरू आगामी ४ मंसिरमा हुने चुनावमा भने भाग लिन नपाउने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले जारी गरेको चुनावी अध्यादेशअनुसार फौजदारी लागेका कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का र चिरञ्जीवी वाग्ले, बृहत् लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक जेपी गुप्ता, तथा एमाओवादी नेता तथा पूर्वसभासद् बालकृष्ण ढुंगेल आगामी चुनावमा उम्मेदवार बन्न नपाउने भएका छन् ।
उनीहरूसँग मतदान गर्ने अधिकार भए पनि चुनावमा उम्मेदवार हुने कानुनी अधिकार समाप्त भएको छ । जारी अध्यादेशमा फौजदारी अभियोग लागेका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।
पूर्वगृहमन्त्रीद्वय खड्का र वाग्ले तथा पूर्वसञ्चारमन्त्री गुप्ता सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका कारण उनीहरू चुनावी मैदानमा उत्रिन नपाउने भएका छन् । ओखलढुंगाबाट अघिल्लो संविधानसभामा चुनाव जितेर सभासद् भएका ढुंगेलले पनि चुनावी मैदानमा आउन पाउने छैनन् । सशस्त्र द्वन्द्वका क्रममा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठलाई हत्या गरेको अभियोगमा सर्वाेच्च अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला दिएको छ । यद्यपि, उनले फैसलालाई उल्लंघन गर्दै जेल गएका छैनन् ।
अघिल्लो संविधानसभा र त्यसअघि भएका निर्वाचनमा खड्का र गुप्ताको निकै रवाफ देखिन्थ्यो । उनीहरू कहिले चुनाव नहार्ने नेताका रूपमा परिभाषित भए पनि खड्काले अघिल्लो संविधानसभाको चुनावमा दाङबाट हार व्यहोरेका थिए । गुप्ताले भने चुनाव आºनै पक्षमा पारेका थिए । अहिले यी दुवै चुनावी मैदानका दर्शक मात्र बन्ने भएका छन् ।
सर्वाेच्च अदालतले सार्वजनिक पदमा रहँदा खड्काले ९४ लाख बराबरको अकुत सम्पत्ति आर्जन गरेको फैसला दिएको थियो । अदालतको फैसलाअनुसार उनी सदरखोर डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन् । तर, उनलाई सर्वाेच्च अदालतले तोकेको डेढ वर्षको सजाय आगामी कात्तिकमा सकिँदै छ । चुनावअघि नै थुनामुक्त भए पनि उनी चुनावको दर्शक र मतदातामै सीमित हुनेछन् ।
त्यसैगरी, अर्का प्रभावशाली मधेसीवादी दलका नेता गुप्तालाई पनि सर्वाेच्च अदालतले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गरेको थियो । उनले सार्वजनिक पदमा रहँदा ८४ लाख बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वाेच्च अदालतले डेढ वर्षकै कैद सजाय तोकेको थियो । गुप्ता भने आºनो सजाय काटेर बाहिर निस्किसकेका छन् ।
त्यसैगरी, अर्का नेता चिरञ्जीवी वाग्लेलाई पनि सर्वाेच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै २ करोड बढी अकुत सम्पत्ति आर्जन गरेको ठहर गरेको थियो । वाग्लेले पनि सजाय काटिसकेका छन् ।
एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेलले पनि आगामी चुनावमा भाग लिन नपाउने भएका छन् । उज्जनकुमार श्रेष्ठको हत्या अभियोग प्रमाणित भएका ढुंगेल भने सर्वाेच्च अदालतको आदेशलाई अवज्ञा गर्दै वर्तमान कानुनलाई चुनौती दिइरहेका छन् । राज्यले उनलाई हालसम्म पक्राउ गर्न सकेको छैन । उनले सर्वस्वसहित जन्मकैदको सजाय पाएका छन् ।

प्रतिक्रिया