वर्षातले जाजरकोटको यातायात ठप्प

जाजरकोट, ४ असार । लगातारको वर्षातले दुई दिनदेखि जाजरकोटको यातायात सेवा अवरुद्ध भएको छ । नदीमा पानीको सतह बढेपछि छिन्चु–जाजरकोट सडकखण्डको सुर्खेत राकमदेखि जाजरकोट खलंगासम्म मात्र चल्ने गरेको यातायात पनि वर्षातका कारण अवरुद्ध भएपछि सर्वसाधारणलाई सास्ती भएको छ ।

वर्षातले सवारी साधन नचलेपछि यात्रुहरु सल्यानको सल्लीबजारसम्म एक दिनको पैदल हिड्न बाध्य छन भने बिरामी तथा बालबालीकाहरुको विचल्ली भएको छ । सुर्खेत, नेपालगञ्जबाट सीधा यातायात चल्ने गरेकोमा गत जेठ दोश्रो सातादेखि सुर्खेतको राकमबाट मात्र यातायात सञ्चालनमा थियो ।
नदीमा पानीको सतह बढेपछि सल्यानको सल्लीबजार र सुर्खेतको राकम जोड्ने भेरी नदीमा रहेको फेरी बन्द भएपछि सवारीसाधन राकमसम्म मात्र पुग्ने गरेका छन् । यस्तैे ठाउँ ठाउँमा खाल्टाखुल्टी तथा हिलाम्य बनेपछि सवारी आवागमन ठप्प भएको भेरी गंगा यातायात व्यवयासायी समितिका इन्चार्ज महेश चौधरीले बताए । सडक हिलाम्मे भएपछि बालबाहक ट्रक, टयाक्टर लगाएतका सवारी साधनहरु समेत बाटोमा अलपत्र छन् । जाजरकोटमा भेरी गंगा, भेरी राप्ती, भेरी सार्वजनिक, वागेश्वरी, सुर्खेत यातायात र मध्यपश्चिम यातायात व्यवसायी समितिका गाडीहरु सञ्चालनमा छन् ।

त्यस्तै रुकुमको चौरजहारीदेखि सल्यान सल्लीवजारसम्मको सडक पनि बर्षातका कारण अवरुद्ध छ । कच्ची र साँघुरो बाटोले गर्दा वर्षातको समयमा वर्षेनी यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।
वर्षातले विद्युत बन्द
जाजरकोट सदरमुकाम लगायत आसपासका स्थानहरुमा विद्युत सेवा पु¥याउँदै आएको साङ्ट– रिसाङ लघु जलविद्युत आयोजनाको विद्युतसेवा वर्षातले गर्दा अवरुद्ध भएको छ । लगातारको वर्षतले आयोजनाको नहर बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

एक सय मिटर माथिबाट आएको पहिरोले झण्डै ३० मिटर नहर भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर मर्मत कार्य भईरहेको र सकेसम्म छिट्टै विद्युत सेवा सुचारु गर्ने आयोजनाका प्रबन्धक भोजेन्द्र मल्लले बताए ।

विद्युत सेवा अवरुद्ध भएपछि जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुको दैनिक कामकाजमा समस्या देखिएको छ भने जिल्लामा रहेका दुई दर्जन बढि संचारकर्मिहरुलाई समाचार सम्प्रेषणमा कठिनाई भएको छ । त्यस्तै जिल्लामा संचालित २ वटा दुईवटा सामुदायिक रेडियोको प्रशारण सेवा समेत प्रभावित भएको छ ।।

 

प्रतिक्रिया