सरसफाइ कार्यक्रममै भ्रष्टाचार

Bharastacharराजविराज, ४ असार । ‘सबै जनता सबै दल, सरसफाइमा लगाऔँ अझै बल’ भन्ने नाराका साथ सप्तरीको राजविराजमा आयोजित दुई दिने सरसफाइ सम्मेलनमै आयोजक कार्यलयले भ्रष्टाचार गरेको रहस्य खुलेको हो ।

सन् २०१६ सम्ममा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने पूर्वतयारी स्वरूप सोमबार सम्पन्न भएको सम्मेलनमा अनियमित तरिकाले भत्ता वितरण गरेको भन्दै हो–हल्ला सुरु भएपछि यसको रहस्य खुलेको हो । कार्यक्रमको अन्त्यमा भत्ता वितरणका क्रममा गाविस सचिव तथा कर्मचारीलाई एकथरी र राजनीतिक दल तथा सञ्चारकर्मीलाई एकथरी भत्ता वितरण भएपछि होहल्ला भएको थियो ।
एउटै कार्यक्रम र समान समयमा बसेका सहभागीलाई फरक–फरक भत्ता बाँडेको भन्दै राजनीतिक दलका प्रतिनिधिले हल्ला गरेपछि सोमबार सबै कुरा मिलाउने भन्दै आयोजकले उनीहरूलाई थुम्थुम्याएर पठाएका थिए । सोहीअनुसार आयोजक खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सप्तरीले सोमबार पनि दोहोर्‍याएर भत्ता वितरण गरेको स्रोतले बतायो । आइतबार एक चरण भत्ता वितरण गरी सकेका व्यक्तिलाई समेत सोमबार आयोजकले पुन: बोलाएर थपरकम उपलब्ध गराएको छ । ‘दिनको तीन सयका दरले दुई दिनको ६ सय लिएर आएको थिए । सोमबार फेरि बोलाएर चार सय थपिदिए,’ एक सहभागीले भने ।
बाँकी बचेका व्यक्तिलाई मंगलबारसमेत भत्ता वितरणको कार्यक्रम रहेको जनाइएको छ । भत्ता वितरणमै आयोजकले रकम अनियमितताको खेल सुरु गरेकाले कार्यक्रममा व्यापक अनियमितता भएको सहभागीले आशंका गरेका छन् । कार्यक्रमको सुरुआतमै भएको यस्तो खेलाले २०१६ सम्ममा हुने हरेक कार्यक्रममा कति रकमको चलखेल हुने हो ? सोच्नु पर्ने अवस्था आएको राजनीतीक दलका एक प्रतिनिधिले आशंका व्यक्त गरे ।

प्रतिक्रिया