सुपरसेन्टेरियन किम्युरोपछि पालो ओकावाको

oldest-women-of-worldमान्छेको आयु कति ? उत्तर निश्चित छैन । धेरै बाँचेर लामो समयसम्म संसार नियाल्ने चाहना प्रायको हुन्छ । तर, शताब्दीभरिका घटनाहरूको साक्षी बन्ने सौभाग्य नगण्य ‘भाग्यमानी’ ले मात्रै पाउँछन् । त्यसो त दीर्घजीवनको वास्तविक कारण यही हो भन्ने दाबी पनि कसैले गर्न सकेको छैन । जन्मसँगै मृत्युको निश्चितता सबैले बोकेर आएका हुन्छन् । यद्यपि जन्म–मृत्युबीचको निजी जीवनको लम्बाइ व्यक्तिपिच्छे फरक हुन्छ । र, पनि तीनवटा शताब्दी छुन सक्ने आयु कमैले पाउँछन् । तपाईंले कहिल्यै त्यस्तो कल्पना गर्नुभएको छ ?

मानव विकास सूचकांकलाई आधार मानेर विश्व मानव विकास प्रतिवेदनले २०१३ मा जारी गरेको पछिल्लो तथ्यांकअनुसार नेपालीको औसत आयु ५९ वर्ष छ । ७० वर्षभन्दा बढी बाँच्ने नेपाली निकै कम हुने अध्ययनले देखाउँछ । सय वर्षको आयु पार गर्ने नेपाली त झनै न्यून । भनिन्छ, सय वर्ष उमेर पुगेका व्यक्तिले एकै जुनीमा पुर्नजन्म लिन्छन् । विश्वले नै सामान्य मानवको उमेर सय वर्ष बढी हुन सक्ने कल्पना गरेको छैन । तर, कसैकसैले यस्तै कल्पनातीत आयु पाउँछन् । एक सय १० वर्ष उमेर कटेकालाई ‘सुपरसेन्टेरियन’ उपमा दिने गरिन्छ ।
विश्वका हजार व्यक्तिमध्ये मुस्किलले एक जना ‘सुपरसेन्टेरियन’ हुने सम्भावना रहन्छ । हालसम्म तीन सयको हाराहारीमा ‘सुपरसेन्टेरियन’ हुन सक्ने अनुमान छ । तर, एक सय दश वर्षको जन्मदिन मनाएका ६० जना व्यक्ति मात्रै पहिचानमा छन् अहिले । सन् २०१० मा गरिएको अध्ययनअनुसार जापान, संयुक्त राज्य अमेरिका, इटली, बेलायत र फ्रान्समा मात्रै हाल एक सय दश वर्ष बढीका मानिस भेटिएका छन् ।
१९औं शताब्दीको अन्त्यतिरबाट मात्रै विश्वका जेष्ठ व्यक्तिहरूको आधिकारिक पहिचान सुरु गरिएको हो । १९८० को दशकसम्म एक सय १५ वर्षका व्यक्तिले त्यो अवधिसम्मका सबैभन्दा जेठा व्यक्तिका रूपमा अन्तर्राष्ट्रिय पहिचान पाएका थिए । तर, केही वर्षपछि १ सय २२ वर्षकी जेन्ने क्लामेन्ट भेटिएपछि त्यो रेकर्ड ब्रेक भइसकेको छ । सन् १९९७ मा १ सय २२ वर्ष १ सय ६४ दिनको उमेरमा उनको देहान्त भयो ।
त्यसपछि पहिचान भएमध्ये ९ जना व्यक्ति एक सय १० वर्ष उमेर कटेका थिए । जसमा एक पुरुष र अन्य महिला हुन् । पहिचान भएका जेष्ठ नागरिकमध्ये पछिल्लो समय गिनिजबुकमा नाम लेखिएका एक सय १६ वर्षे जापानी जिरोयमोन किम्युराको गत बुधबार निधन भएको छ । त्यसपछि सोही देशकी मिसाओ ओकावा ‘सबैभन्दा जेठो’ घोषित भएकी छन् । उनको उमेर एक सय १५ वर्ष छ ।

जिरोयमोन किम्युरो
‘म सधैँ आकाशमाथि हेरिरहन्छु । अनि सोच्छु– म त्यहाँ कसरी पुग्छु,’ एक सय १६औँ जन्मदिवस मनाउँदा जिरोयमोन किम्युरोले भनेका थिए, ‘म अझै धर्तीमा रहनुमा ममाथिका सूर्यको तेज धन्यवादको हकदार छ ।’ जीवनको ६५ वर्षसम्म उनी एक व्यक्तिको पत्र अर्को व्यक्तिसम्म आदानप्रदान गरिरहन्थे । उमेरले सुपरसेन्टेरियन भएर एक सय १६ वर्ष जीवित रहेको स्वर्णिम उपलब्धिका खातिर सायद उनको जिन्दगीबाट एउटा अव्यक्त पत्र भगवान्सम्म पुगेको थियो । जसले उनलाई विश्व–इतिहासमा स्वर्णिम अक्षरले नाम लेखाउने अवसर दिए । अनि, गत बुधबार सुटुक्क आफूसँगै बोलाए भगवान्ले जिरोयमोनलाई ।
नेपालीको औसत आयुभन्दा लगभग दोब्बर (५७ वर्ष) बाँचे जिरोयमोन । उनको आहार निकै कम हुन्थ्यो तर शरीरलाई आवश्यक शक्ति पुग्ने खालका खानेकुरा छनोटमा पर्थे । जीवनका धेरै संकटमा पनि खुसी भएर बाँच्ने प्रयत्न गरे उनले । ‘कम खाउँm, धेरै बाँचौँ’ उनको जीवन सिद्धान्त थियो । जिरोयमोनको हेरचाह गर्ने नातिनी बुहारी अलिको भन्छिन्, ‘जीवनप्रति सधँै सकारात्मक र खुसी रहने बानी उहाँको सुदीर्घजीवनको आधार हो ।’
अहिलेसम्म प्राप्त तथ्यांक पल्टाउँदा सबैभन्दा बढी उमेर बाँच्नेमा उनी दोस्रो स्थानमा पर्छन् । १९ अप्रिलमा उनले एक सय १६औं जन्मदिन मनाएका थिए । प्राकृतिक अनि स्वाभाविक तबरले जापानको कोयोटांगोस्थित अस्पतालमा उनको निधन भयो । गत डिसेम्बरमा विश्वका जेठा नागरिकका रूपमा उनको नाम रेकर्ड भएको थियो ।
जीवनकालमा क्यालेन्डरका तीन शताब्दी छोएका उनले सात छोराछोरी, १४ नातिनातिना, ३५ पनाति–पनातिना अनि १३ जना खनाति–खनातिना देखे । १९ अप्रिल १८९७ मा जन्मिएका किम्युरा हुलाकी थिए । ६५ वर्षे उमेरसम्म चिठीपत्र आदानप्रदान नै उनको जीविका धान्ने आधार थियो । स्थानीय हुलाक कार्यालयबाट रिटायर्ड भइसकेपछि ९० वर्षको उमेरसम्म लगातार सक्रिय कृषकका रूपमा काम गरे । जीवनको अधिकांश समयलाई सक्रिय बनाएका उनलाई सुखी व्यक्तिका रूपमा उल्लेख गरिन्छ ।
‘धेरै बाँच्न कम खाऊ’ सिद्धान्तकै कारण आफू लामो समय बाँचेको विश्वास गर्ने उनी यो सौभाग्यका लागि लागि खुसी व्यक्त गर्थे । जन्मदिनका बेला सञ्चारमाध्यमहरूमा उनले खुसी रहने र कम खाने मान्यताकै कारण आफू दीर्घजीवीहरूमध्येको एक हुन सकेको बताएका थिए ।

मिसाओ ओकावा
विश्वमा पहिचान भएका ‘सुपरसेन्टेरियन’ मध्ये तीसौँ हुन्, मिसाओ ओकावा । जिरोयमोनको निधनपछि मिसाओ विश्वकी सर्वज्येष्ठ नागरिक बनेकी छन् । यसअघि गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनी विश्वकी जेठी महिलाका रूपमा सूचीकृत थिइन् ।
सन् १८९८ मार्च ५ मा जन्मिएकी उनी जापानमा पहिचानमा आएका तीन ‘सुपरसेन्टेरियन’ मध्येकी एक हुन् । अहिले उनको उमेर १ सय १५ वर्ष १ सय ३ दिन रहेको छ । विश्वमा हाल एक सय दश वर्ष उमेर कटेका आठ जना महिला फेला परेका छन् ।
जापानको टेन्मा जिल्लामा जन्मेकी ओकावा अहिले ओसाकास्थित आफ्नै नर्सिङहोममा बस्छिन् । स्वास्थ्यक्षेत्रमै नै संलग्न भएकाले युवावस्थादेखि नै उनी अफ्नो स्वास्थ्यप्रति सचेत थिइन् । सन् १९१९ मा बिहे गरेकी ओकावाका पति युकियोको निधन भइसकेको छ । ओकावा पनि जीवनमा खुसी भएर जिउन जानेकी महिला हुन् । दु:खलाई आत्मसात् गर्ने सामथ्र्य बोकेकी उनको अनुहारमा हत्तपत्त रिसको भाव देखिदैन । उनका दुई छोरी र एक छोरा जन्मे । एक छोरा र एक छोरी अझै जीवित छन् । उनीहरू पनि सन् २०१३ को अगस्टपछि ९० वर्ष कटिसके । उनका चार नातिनातिना र छ पनातिपनातिना छन् । गत फेब्रुअरीमा ओकावाले एक सय १५औँ जन्मदिन मनाइन् ।
(एजेन्सीको सहयोगमा)
जेष्ठ व्यक्तिहरू
— हालसम्म सबैभन्दा बढी बााच्ने व्यक्ति : फ्रान्सकी जेन्ने क्याल्मेन्ट, सन् १९९७ अगस्ट ४ मा एक सय २२ वर्षको उमेरमा मृत्यु ।
— हालको ज्येष्ठ नागरिक : जापानकी मिसाको ओकावा, ११५ वर्ष
— हालका सबैभन्दा जेठा पुरुष : अमेरिकाका जेम्स एमसी क्युवेरी, १११ वर्ष ।
तीस सुपरसेन्टेरियन
सि.नं. नाम लिंग जन्म मृत्यु उमेर देश
१) जेन्ने क्याम्लेन्ट महिला २१ फेब्रुअरी १८७५ ४ अगष्ट १९९७ १२२ वर्ष १६४ दिन फ्रान्स
२ं) साराच कन्नउस महिला २४ सेप्टेम्बर १८८० ३० डिसेम्बर १९९९ ११९ वर्ष ९७ दिन अमेरिका
३) लुसी हाना, महिला १६ जुलाई १८७५ २१ मार्च १९९३ ११७ वर्ष २४८ दिन अमेरिका
४) म्यारी लुइस मिलर महिला २९ अगष्ट १८८० १६ अप्रिल १९९८ ११७ वर्ष २३० दिन क्यानडा
५) मारिया कापोभिल्ला महिला १४ सेप्टेम्बर १८८९ २७ अगष्ट, २००६ ११६ वर्ष ३४७ दिन इक्वेडर
६) ताने इकै महिला १८ जनवरी १८७९ १२ जुलाइ १९९५ ११६ वर्ष १७५ दिन जापान
७) एलिजाबेथ बोल्डेन महिला १५ अगष्ट १८९० ११ डिसेम्बर २००६ ११६ वर्ष ११८ दिन अमेरिका
८) बेसे कोपर महिला २६ अगष्ट १८९६ ४ डिसेम्बर २०१२ ११६ वर्ष १०० दिन अमेरिका
९) जिरोयमोन किम्युरो पुरुष १९ अप्रिल १८९७ १२ जुन २०१३ ११६ वर्ष ५४ दिन जापान
१०) म्यागी बार्नेस महिला ६ मार्च १८८२ १९ जनवरी १९९८ ११५ वर्ष ३१९ दिन अमेरिका
११) डिना म्यानफ्रेडिनी महिला ४ अप्रिल १८९७ १७ डिसेम्बर २०१२ ११५ वर्ष २५७ दिन इटली
१२) क्रिष्टियन मोर्टेन्सेन पुरुष १६ अगष्ट १८८२ २५ अप्रिल १९९८ ११५ वर्ष २५२ दिन डेनमार्क
१३) चर्लोटे हगेस महिला १ अगष्ट १८७७ १७ मार्च १९९३ ११५ वर्ष २२८ दिन अमेरिका
१४) एण्डा पार्केर महिला २० अप्रिल १८९३ २६ नोभेम्वर २००८ ११५ वर्ष २२० दिन अमेरिका
१५) मेरि अन्न रोदेश महिला १२ अगष्ट १८८२ २ मार्च १९९८ ११५ वर्ष २०३ दिन क्यानडा
१६) मार्गरेट स्किट महिला २७ अक्टोबर १८७८ ७ मे १९९४ ११५ वर्ष १९२ दिन अमेरिका
१७) गेरट्युड बाइनेस महिला ६ अप्रिल १८९४ ११ सेप्टेम्बर २००९ ११५ वर्ष १५८ दिन अमेरिका
१८) इमिलिनो मेर्काडो पुरुष २१ अगस्ट १८९१ २४ जनवरी २००७ ११५ दिन १५६ दिन प्युएर्तो रिको
१९) बेटिइ विल्सन महिला १३ सेप्टेम्बर १८९० १३ फेब्रिअरी २००६ ११५ वर्ष १५३ दिन अमेरिका
२०) जुलिया वीनफ्रेड वर्नहार्ड महिला १६ सेप्टेम्बर १८९१ १८ जनवरी २००७ ११५ वर्ष १२४ दिन क्यानडा
२१) मारिया दि जिसस महिला १० सेप्टेम्बर १८९३ २ जनवरी २००९ ११५ वर्ष ११४ दिन पोर्चुगल
२२) सुसी जिब्सन महिला ३१ अक्टुवर १८९० १६ फेब्रिअरी २००६ ११५ वर्ष १०८ दिन अमेरिका
२३) मिसाओ ओकावा महिला ५ मार्च १८९८ — ११५ वर्ष १०३ दिन जापान
२४) अगस्टा होल्ज महिला ३ अगस्ट १८७१ २१ अक्टोबर १९८६ ११५ वर्ष ७९ दिन अमेरिका
२५) हेन्ड्रिकजे भान महिला २९ जुन १८९० ३० अगस्ट २००५ ११५ वर्ष ६२ दिन नेदरल्यान्ड
२६) माउड फारिस लुइस महिला २१ जनवरी १८८७ १८ मार्च २००२ ११५ वर्ष ५६ दिन अमेरिका
२७) म्यारी बेरमोन्ट महिला २५ अप्रिल १८८६ ६ जुन २००१ ११५ वर्ष ४२ दिन फ्रान्स
२८) कोटो ओकुवो महिला २४ डिसेम्बर १८९७ १२ जनवरी २०१३ ११५ वर्ष १९ दिन जापान
२९) चियोनो हासेगवा महिला २० नोभेम्वर १८९६ २ डिसेम्बर २०११ ११५ वर्ष १२ दिन जापान
३०) आनेइ जेनिङस महिला १२ नोभेम्बर १८८४ २० नोभेम्बर १९९९ ११५ वर्ष ८ दिन अमेरिका
स्रोत : जेरोन्टोलोजी रिसर्च गु्रप (जुन १५, २०१३)

प्रतिक्रिया