उपचार खर्च सरकारले बेहोर्ने आज जापान लगिदै

काठमाडौं, ३ असार । राष्ट्रपति डा. रामवरण यादवको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खर्च बेहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति यादवलाई सोमबार दिउँसो उपचारका लागि जापान लगिने भएको छ । उनीसँग छोरा चन्द्रमोहन, छोरी अनिता, कानुनी सल्लाहकार सूर्य ढुंगेल, निजी चिकित्सक डा. यादव भट्ट, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल र तीन जना सुरक्षा सहयोगी जापान जाने भएका छन् । उनको उपचारका लागि अस्पतालको बन्दोबस्त जापान सरकारले मिलाउने भएको छ ।
शनिबार साँझ बसेको मेडिकल बोर्डको बैठकले राष्ट्रपति यादवलाई रोग पत्ता लगाउन र उपचार गर्न जापानको कुनै राम्रो अस्पताल जान सुझाव दिएको थियो । मेडिकल बोर्ड बैठकको निर्णयपछि राष्ट्रपति कार्यालयले राष्ट्रपति यादवलाई जापान लैजाने तयारी शनिबारबाटै गरेको थियो । आइतबार मन्त्रिपरिषद् बैठकले उपचारमा लागेको सबै खर्च बेहोर्ने निर्णय गरेको हो ।
सरकारले उपचारमा लागेको खर्च बेहोर्ने निर्णय गरेसँगै राष्ट्रपतिलाई सोमबार नै जापान लैजाने तयारी भइरहेको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले जापानी दूतावासमा भिसाका लागि पत्राचारममेत गरिसकेको छ ।
अस्वस्थ भए पनि राष्ट्रपति यावदले दैनिक काम भने गरी रहेका छन् । यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति अहिले पनि दैनिक कामकाजमा छन् । ‘उहाँको स्वास्थ अहिले नर्मल नै छ,’ दाहालले भने, ‘दैनिक काम गरिरहनुभएको छ ।’

प्रतिक्रिया