मिडिया कप फुटबल सुरु

काठमाडौं : गत उपविजेता इमेज च्यानलले छैटौँ भर्जिन मिडिया कप फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । लगनखेलस्थित आर्मी ट्रेनिङ तथा स्पोर्ट्स सेन्टरमा भएको खेलमा इमेजले अन्नपूर्ण पोस्टलाई ४–१ गोलअन्तरले हरायो ।
इमेजबाट प्रकाश महर्जनले २ तथा पेमा शेर्पा र सुनील ताम्राकारले १–१ गोल गरे । अन्नपूर्णका दुर्गेश थापाले सान्त्वना गोल गरे । ‘म्यान अफ द म्याच’ घोषित इमेजका सुनीललाई हाइल्यान्ड डिस्टिलरीका ब्रान्ड म्यानेजर रोशन सुवेदीले पुरस्कृत गरे ।
नेपाल ओलम्पिक संग्रहालयद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा अरनिको टिभीले उज्यालो एफएमलाई ४–१ को नतिजामा पाखा लगायो । त्यसअघि प्रतियोगिताको एसियाली फुटबल महासंघका उपाध्यक्ष एवं अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले उद्घाटन गरेका थिए । १७ टिम सहभागी प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले २५ हजार नगद पुरस्कार हात पार्नेछन् । नकआउट प्रतियोगिताको फाइनल असार ११ गते हुनेछ । (सौस)

प्रतिक्रिया