राष्ट्रपतिको रोग डाक्टरले पत्ता लगाउन सकेनन्

Rambaran_Yadavकाठमाडौँ, २ असार । दुई दिनदेखि अस्पताल धाइरहेका राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्यमा के समस्या हो भन्ने देशका वरिष्ठ चकित्सकहरूले पत्ता लगाउन सकेका छैनन् । शनिबार साँझ बसेको मेडिकल बोर्डको बैठकले राष्ट्रपति यादवलाई रोग पत्ता लगाउन र उपचार गर्न जापानको राम्रो अस्पताल जान सुझाव दिएको छ ।

केही दिनयता पेटको समस्याबाट पीडित बनेका राष्ट्रपति यादव अस्पताल चहारेर उपचारको प्रयास गरिरहेका छन् । तर, चिकित्सकले ‘रोग यही हो’ भन्ने बताउन सकेका छैनन् । अनुमानका आधारमा रोगबारे उनीहरूले राष्ट्रपतिलाई सोझै भन्न नसकेपछि समस्या पत्ता लगाउन जापान जान सुझाव दिएका छन् ।
शनिबार साँझ बसेको मेडिकल बोर्डको बैठकले राष्ट्रपति डा. यादवको थप स्वास्थ्य परीक्षण गरी समस्या समाधान गर्न जापानको कुनै राम्रो अस्पतालमा जान सुझाव दिने निर्णय गरेको छ । मेडिकल बोर्ड बैठकको निर्णयपछि राष्ट्रपति कार्यालयले राष्ट्रपति यादवलाई जापान लैजाने तयारीसमेत गरेको छ ।
चिकित्सकहरूको सुझाव र मेडिकल बोर्डको निर्णयबमोजिम नै राष्ट्रपति यादवलाई जापान लैजाने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । ‘चिकित्सकहरूले भनेबमोजिम नै जापानमा जाने तयारी भइरहेको छ,’ उनले भने, ‘जापानमा कुन अस्पतालमा कहिले लैजाने भन्ने विषयमा सुझाव लिने काम भइरहेको छ ।’
पेटको समस्याले सताउँदै गएपछि राष्ट्रपति डा. यादवले चिकित्सककै सुझावका आधारमा शुक्रबार त्रिवि शिक्षण अस्पतालमा गएर अल्ट्रासाउन्ड गराएका थिए । अल्ट्रासाउन्डले राष्ट्रपति यादवको ठूलो आन्द्रामा सानो मासुको डल्लोजस्तो देखाएको थियो । अल्ट्रासाउन्ड रिपोर्ट हेरेर त्यहाँका चिकित्सकहरूले समस्या के हो भन्ने प्रस्ट बताउन सकेनन् ।
प्रस्ट रूपमा समस्या थाहा नपाएपछि राष्ट्रपति डा. यादवको नियमित स्वास्थ्य जाँच गरिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. शशी शर्माले सिटिस्क्यान गर्न सुझाव दिएका थिए । उनकै सुझावअनुसार राष्ट्रपति यादवले शनिबार बिहान टोखास्थित ग्रान्डी अस्पतालमा गएर सिटिस्क्यान पनि गराए । नेपालमै आधुनिक सिटिस्क्यान भित्र्याएको ग्रान्डी अस्पतालको सिटिस्क्यान रिपोर्टले पनि राष्ट्रपति यादवको खास समस्या पत्ता लगाउन नसकेपछि चिकित्सकहरूले थप स्वास्थ्य परीक्षण गरी समस्या समाधान गर्न विदेश लान सुझाव दिएका हुन् । राष्ट्रपति यादवको उपचारमा डा. शर्मासहित डा. यादवदेव भट्टलगायतको टोली सक्रिय रहेको छ ।

प्रतिक्रिया