मनाङले गोर्खा कपमा रोक्ला के आर्मीको गति ?

काठमाडौं, १ असार । नेपाली क्लब फुटबलमा मनाङ लामो समयदेखि उपाधिका लागि संघर्षरत छ । यता नेपाल आर्मीका लागि भने फाइनल पुग्नु नै ठूलो उपलब्धि देखिएको छ । यसै पृष्ठभूमिमा यी दुई क्लब शनिबार राजधानीमा १० लाख रुपियाँ उपाधि राशिको गोर्खा कप फुटबल प्रतियोगिताको फाइनलमा भिड्दै छन् । यस खेलको विजेता यस प्रतियोगितामा नयाँ विजेता मात्र बन्नेछैन, स्वयं यी दुई क्लबको उपाधि खडेरीसमेत चिर्नेछ ।

मोटो पारिश्रमिक खर्चिएर स्टार खेलाडीलाई भित्र्याए पनि पछिल्ला केही वर्षमा मनाङ उपाधि जित्न सफल हुनसकेन । सहिद स्मारक ए डिभिजन लिगका पछिल्ला दुई संस्करणमा उसले दोस्रो स्थानमै चित्त बुझायो । गोर्खा कपकै दुई संस्करणको फाइनलमा मनाङ थ्री–स्टारद्वारा पराजित भयो । यसक्रममा सन्तोष साहुखल, सन्दीप राई, विजय गुरुङ, अनिल गुरुङ, नीराजन खड्कालगायत खेलाडी साथ लिएको मनाङलाई राष्ट्रिय टिमका यी पहिलो रोजाइका स्टारले उपाधिमा साथ दिन सकेनन् । तर, यसपटक उसको कथा बेग्लै छ ।
पछिल्ला तीन संस्करणको फाइनलिस्ट थ्री–स्टारलाई पराजित गर्दै मनाङ पुन: एकपटक उपाधिनजिक छ । यसपटक सन्तोष साहुखल, नीराजन खड्का, सन्दीप राई, विजय गुरुङ, गोलकिपर किरण चेम्जोङ, जगजित श्रेष्ठ, विराज महर्जनलगायत राष्ट्रिय टिमका प्राय: स्टार खेलाडी थ्री–स्टारमा थिए । अनिल गुरुङ र फ्रेन्ड्सबाट फर्किएका सागर थापा मात्र मनाङमा रहेका राष्ट्रिय टिमका सदस्य हुन् । चोटबाट फर्किएका गोलकिपर विशाल श्रेष्ठ, केही समययता राष्ट्रिय टिममा पर्न असफल शिव श्रेष्ठ र सुजल श्रेष्ठ तथा मच्छिन्द्रबाट ल्याइएका दीपक राई, विशाल राई र विक्रम लिम्बुले मनाङको गति सम्हालेका छन् ।
यता नेपाल आर्मीको कथा पनि यसपटक बेग्लै छ । साविक विजेता नेपाल पुलिसलाई क्वार्टरफाइनलमा पराजित गरेको यो विभागीय टोली उच्च लयमा छ । मुख्य दुई खेलाडी भरत खवास र नवयुग श्रेष्ठ टोलीमा छैनन् । त्यसैगरी, नियमित गोलकिपर गंगाराम देउजाको स्थानमा फूलबहादुर तामाङले गोलपोस्ट सम्हालिरहेका छन् । काशीराम कार्की र नरेश मेचे नयाँ खेलाडी भए पनि पहिलो रोजाइमा छन । टेकबहादुर बुढाथोकी, राजु तामाङ र टंक बस्नेत उच्च लयमा छन् । हरेक खेलाडीको प्रदर्शन र टिमस्प्रिटका कारण आर्मीको गति तेज भएको हो ।

प्रतिक्रिया