उदयपुर जिल्ला अस्पताल सुविधा सम्पन्न बन्दै

udayapur-aspatalउदयपुर, १ असार । स्थापनाको तीन दशकपछि जिल्ला अस्पताल ५० शय्यामा परिणत भएको छ । १५ शय्याको स्वीकृति प्राप्त गरेको अस्पताललाई यस वर्षदेखि क्षमता वृद्धि गरी ५० शैय्यामा  परिणत गरिएको छ । यससँगै सुविधा सम्पन्न नयाँ भवनसमेत निर्माण गरिएको छ । स्थानीयवासिन्दा, बुद्धिजिवी, व्यापारी र राजनीतिक दलले अस्पताल सुधारसहित बेड संख्या बढाउन पटक–पटक गरेको आग्रहअनुरूप सरकारले दुई वर्षअघि २५ शय्याको क्षमता वृद्धि गरी भवन निर्माणका लागि बजेट व्यवस्था गरेको थियो ।

१४ मा बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई ५० शय्याको स्वीकृती दिएको छ भने एक जना ११औँ तहका १४ विशेषज्ञ डाक्टरसहित ५९ जनाको दरबन्दी पनि थपगरेको अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले बताए ।
मन्त्रिपरिषद्ले स्वीकृती दिएपछि केही समयभित्रै अस्पतालमा विशेषज्ञ डाक्टर आउने जनाइएको छ । अस्पतालमा मेडिसियन, सर्जरी, गाइने, बालरोग, डेन्टल, फिजिओथेरापी र अर्थोपेडिक विशेषज्ञ सेवा सञ्चालन हुने जनाइएको छ । बेड संख्या वृद्धिसँगै अत्याधुनिक सुविधा सम्पन्न एवं आठ रेक्टर स्केलमिटरसम्मको भूकम्पको घक्काबाट समेत पूर्णसुरक्षित हुने नयाँ भवनको निर्माण कार्य हालै सम्पन्न भएको छ । करिब एक बिगाहा क्षेत्रफलमा २५ कोठाको दुई तले पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि बिरामीको उपचारका लागि सहज भएको प्रमुख दासले बताए ।
‘हामीसँग अब प्रर्याप्त भवन छ,’ डाक्टर दासले भने, ‘दिनमा अञ्चल अस्पतालले दिने सेवा उदयपुरमै दिन्छौँ ।’ भवन निर्माण गर्ने ठेक्क ६ करोड ५३ लाख रुपियाँको लागतमा रौता निर्माण कन्ट्रक्सनले लिएको थियो । २०३८ सालमा निर्माण भएको हालको जिल्ला अस्पताल क्षेत्रमा करिब पाँच बिगाहा जग्गा ओगटेको भए पनि मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएकोले नयाँ भवन निर्माणका लागि स्थानीयवासिन्दाले सरकार समक्ष माग गर्दै आएका थिए । भौतिक सामग्रीसहितको अत्याधुनिक अस्पताल भवन बनेपछि बिरामीले उपचारका लागि विराटनगर, धरान, लाहान, राजविराज र काठमाडौंलगायतका अस्पताल जानुपर्ने बाध्यता नरहने प्रमुख दासले बताए । अस्पतालमा पर्याप्त विशेषज्ञ नहुँदा स्थानीयले सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानु पर्ने बाध्यता थियो । विशेषज्ञ नहुँदा प्रत्यक्ष मर्कामा गर्भवती महिला पर्दै आएका थिए । सामान्य सुत्केरी गराउनसमेत अन्यत्र जानु परेपछि बिरामी आर्थिक रूपमा पनि समस्यामा पर्दै आएका थिए । अस्पताले एक वर्ष अघिदेखि गम्भीर प्रकृतिबाहेकका सबै डेलिभरी गराउँदै आएको छ । त्यसका लागि अस्पतालले विशेषज्ञ डाक्टर डिएल यादवलाई करारमा नियुक्त गरिएको छ । यादव नियुक्त भएपछि डेलिभरीको समस्या नआएको अस्पताल प्रशासनले जनाएको छ । दैनिक झण्डै आधा दर्जनको संख्यामा डेलिभरी हुने गरेको अस्पतालमा उदयपुर, खोटाङ, ओखलढुंगा र भोजपुरका बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया