गायक बराल प्रहरी फन्दामा

Yam-Baralकाठमाडौं, १ असार । क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका चर्चित गायक यम बराल पाँच दिन प्रहरी हिरासतमा बस्ने भएका छन् । प्रहरीले शुक्रबार बिहान ३ बजेतिर लैनचौरको मल्ल होटलस्थित ‘क्यासिनो मल्ल’बाट उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले बराललाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरेर जुवा ऐनअन्र्तगत मुद्दा चलाएको छ । अदालतले पाँच दिनको म्याद थप गरेपछि अर्को आदेश नभएसम्म गायक बराल प्रहरी हिरासतमै रहनेछन् । बराललाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । ‘अदालतबाट पाँच दिनको म्याद थपभएको छ । पाँच दिनसम्म उनी हिरासतमै रहने पक्का भयो,’ परिसरका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहले भने । जुवा ऐनअन्तर्गत बरालविरुद्ध कारबाहीअघि बढाइएको उनले बताए । थपअनुसन्धान गर्न भन्दै परिसरले शुक्रबार दिउँसो बराललाई म्याद थपका लागि अदालत लगेको थियो । शुक्रबार बिहान ३ बजे महानगरीय प्रहरी प्रभाग दरबारमार्गले उनलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले बराल एक्लैलाई पक्राउ गरेको हो । ‘बरालसँग अरू भेटिएनन्,’ डिएसपी सिंहले भने ।
नेपाली प्रवेश गरेको सूचना पाएपछि प्रहरीले बिहान पख क्यासिनोमा छापा मारेको थियो । क्यासिनोमा अन्य नेपाली भने फेला परेनन् । जुवाको खालमा तास फिट्दै गरेको अवस्था भेटिएका बराललाई प्रहरीले पक्राउ गरेपछि उनी झस्किएका थिए । घटनास्थलमै छाडिदिन हारगुहार गर्न थालेपछि ‘सोधपुछका लागि मात्रै हो’ भन्दै प्रहरी टोलीले उनलाई भ्यानमा हालेको थियो । प्रहरीका अनुसार बरालले मदिरसमेत सेवन गरेका थिए ।
लगत्तै दरबारमार्ग प्रभाग ल्याइएका बराल बिहानभर प्रभागकै हिरासतमा बसे । छाडिदिन हारगुहार गरेका बराललाई १० बजेपछि मात्रै हनुमानढोका लगिएको थियो । प्रहरीका अनुसार बरालले दरबारमार्गबाटै आफूलाई छुटाउन हरसम्भव प्रयास गरेका थिए । ‘हिरासतमा रहेका उनले छाडिदिन धेरै अनुरोध गरे । तर, उनको प्रयास सफल भएन,’ एक प्रहरीले भने ।
हिरासतमा रहेका बराल सबैभन्दा धेरै मिडियासँग डराएका थिए । प्रहरीका अनुसार पक्राउ परेको खबर मिडियामा नभन्न निक्कै अनुरोध गरेका थिए । पछिल्ला दिनमा गुमनाम अवस्थामा रहेका गायक बरालको आर्थिक र पारिवारिक अवस्था बिग्रिएको छ । केही वर्ष अमेरिका बसेर आएका उनी रक्सी र ऐयासी जीवनयापनका कारण आर्थिक भारमा परेको स्रोतले जनाएको छ । बैंकले ऋण तिर्न पटक–पटक ताकेता गरेपछि उनी अर्थमन्त्री शंकर कोइरालाकहाँ हारगुहार गर्न पुगेको स्रोतले जनाएको छ । १० वर्षअघि विवाह गरेका उनको वैवाहिक जीवन दुई वर्षअघि नै सकिएको थियो । २०६० मा उनले आकृति राणासँग विवाह गरेका थिए । उनीहरूको विवाहमा तत्कालीन राजा ज्ञानेन्द्र शाह अतिथि बनेर सहभागी भएका थिए । बरालका एक छोरा छन् ।
विवाहलगत्तै अमेरिका गएका उनी उत्तै बस्न थालेपछि श्रीमती आकृतिसँत सम्बन्ध चिसिँदै गएको थियो । नेपाल फर्केलगत्तै आकृतिले बरालविरुद्ध काठमाडांै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् । बरालका ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘निष्ठुरीले छोडेर गै हाली’, ‘पीडामात्रै कति दिन्छ्यौ’, ‘मन रहे पो माया प्रीति’लगायत दर्जनाँै गीत चर्चित छन् ।

प्रतिक्रिया