खेलकुद क्षेत्र फेरिएको लामाको दाबी

yubarajकाठमाडौं, २९ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा युवराज लामाको वर्तमान नेतृत्व आएको दुइ वर्ष पूरा भएको छ । यस अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै सदस्यसचिव लामाले यसबीचमा खेलकुदमा व्यापक तबरले सकारात्मक परिवर्तन भएको दाबी गरे । ‘म आउनुअघि खेलकुदमा लिलिपुटे राजाको हालीमुहाली थियो जो खेलकुदलाई सधैँ कँजाएर राख्न चाहन्थे । उनीहरूको चंगुलमा थियो खेलकुद,’ उनले भने ।
सुरुआती दिनमा आफूले खेलकुदमा गणतन्त्र आएकै छैन भनेको स्मरण गर्दै उनले यसबीचको परिवर्तन दाबी गरे, ‘मलाई लाग्छ, आजका मितिसम्म आइपुग्दा अवस्था फेरिएको छ । ती लिलिपुटे राजा कमजोर भएका छन् र कतिपय यस क्षेत्रबाट बिदा पनि भएका छन् । यसैको उपज खेलकुद संघहरू, प्रशिक्षकहरू र खेलाडी त्यस्ता कथित राजाहरूबाट मुक्त भएका छन् भने कतिपय मुक्त हुने समय पर्खेर बसेका छन् ।’ उनले खेलकुद क्षेत्रमा अनुशासन बस्दै गएको बताए ।
‘दुइ वर्षअघि राष्ट्रिय खेलकुद परिषद् छिर्दै गर्दा मैले भनेको थिएँ, ‘म अँध्यारोमा ढुंगा हान्न आएको होइन, फोकस लाइट लिएर आएको छु ।’ एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेका बेला एकीकृत नेकपा (माओवादी) को प्रतिनिधि बनेर राखेप नेतृत्वमा आएका लामाले भने, ‘राखेपभित्रका तमाम विकृतिसँग जानकार रहेको र ती समस्यासँग जुध्नसक्ने सोच, विचार र तागत भएकै हुनाले मैले अँध्यारोमा ढुंगा हान्न आएको होइन भनेको थिएँ । म विश्वासका साथ भन्छु, यस अवधिमा एकपटक पनि अँध्यारोमा गुलेली चलाउनुपरेको छैन ।’ उनले खेलकुदलाई कानुन र विधिसम्मत बनाउँदा राजनीतिक धर्म पूरा गरेको बताए ।

प्रतिक्रिया