काठमाडौंलाई हराउँदै रूपन्देही बन्यो च्याम्पियन

Bahira-cricketभैरहवा, २६ जेठ । भैरहवामा जारी चौँथो राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि घरेलु मैदानको भरपुर उपयोग गर्दै रूपन्देहीले हात पारेको छ । शनिबार भैरहवाको सिद्धार्थ रंगशालामा साविक विजेता काठमाडौं बहिरा क्रिकेट संघलाई २ विकेटले पराजित गर्दै रूपन्देहीले ट्रफीसहित नगद १५ हजार रुपियाँ प्राप्त गरेको छ । उपाधि जितेसँगै आगामी सन् २०१४ मा दुबईमा आयोजना हुने अन्तर्राष्ट्रिय टी ट्वान्टी प्रतियोगिताका लागि छनोट हुने २२ खेलाडीमा रूपन्देहीका खेलाडीको सहभागिता बढी रहने क्षेत्र नं ४ का कोषाध्यक्ष तथा अम्पाएर सत्यजित सरकारले बताए ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडांैले निर्धारित २० मध्ये १८.३ ओभरमा सबै बिकेट गुमाई ५९ रन बनाएको थियो । जितका लागि ६० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा रूपन्देहीले १२.१ ओभरमा ८ विकेट गुमाउँदै कठिन लाग्दो जित हासिल गर्दै उपाधि हात पारेको थियो । रूपन्देहीको जितमा होमबहादुर केसीले सर्वाधिक १७ रन बनाए भने म्यान अफ दी फाइनल केशव न्यौपानेले १२ रन प्रहार गरे । बलिंगमा रूपन्देहीका मदन पौडेलले ३, केशव न्यौपानेले २ तथा जयनन्द्र तिवारी, सन्तोष पौडेल र ज्ञान सुवेदीले समान १ एक विकेट लिए । काठमाडौंका लागि रिन्जिग लामाले १४ र विजय साउदले ९ रन बनाएका थिए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटसम्यान रूपन्देहीकै जयनन्द्र तिवारी र पूर्णबहादुर थापा तथा उत्कृष्ट बलर कास्कीका शेरविक्रम शाही भए । विजेता खेलाडीलाई सिद्धार्थनगर नगर पालिकाका कार्यकारी प्रमुख टिका दत्त राई, नेपाल बहिरा क्रिकेट संघका अध्यक्ष सूर्यप्रसाद शेरचन, नेपाल क्रिकेट संघका पूर्वकेन्द्रीय सदस्य प्रेमकुमार सेन्चुरीलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा रूपन्देही, मोरङ, काठमाडांै, काठमाडांैको नक्साल, कास्की र धरान गरी ६ टिमको सहभागिता थियो ।

प्रतिक्रिया