‘विराहा’ गीत संरक्षण गर्न गढवामा महोत्सव

देउखुरी २६ जेठ । पीडा थपिएको बेला सान्त्वना दिन अधवी समुदायमा लोकप्रिय विराहा गीत अहिले लोपोन्मुख अवस्थामा छ । तर, यही गीत संरक्षण गर्न शनिबार गढवामा महोत्सवको आयोजना गरियो । दिनभर गढवा अवधी संस्कृतिमय भयो । आ–आफ्ना भेषभुषामा सजिएर आएका व्यक्तिको चहलपहलले गढवामा नयाँ तरंग ल्यायो । दिनभर विराहा गीतले गढवा गुञ्जयमान बन्यो । अवधी सांस्कृतिक विकास परिषद् दाङको आयोजनामा शनिबार गढवामा लोपोन्मुख विराहा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । पिरमा परेको बेला विरहका गीत गाएर आफन्तलाई सान्त्वना दिन विराहा गीत गाउने प्रचलन छ । तर, पछिल्लो समयमा यो परम्परा हराउँदै जान थालेको छ । ‘अवधी समुदायमा रहेको परम्परा, संस्कृति हराउँदै जान थालेको छ,’ अवधी साहित्य परिषद्का अध्यक्ष जगतराम यादवले भने, ‘विरहमा गाउने गीत पनि हराउँदै जान थालेको छ । त्यसको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो ।’ परिषद्का अध्यक्ष जगतराम यादवको अध्यक्षता एवं नेपाल संस्कृतिक विश्वविद्यालयका शिक्षा अध्यक्ष नारायणकुमार आचार्यको प्रमुखआतिथ्यमा महोत्सव सम्पन्न भएको थियो ।

उक्त अवसरमा अवधी समुदायमा रहेको सांस्कृतिक पहिचान झल्कने र लोपोन्मुख अवस्थामा रहेको विराहा गीत प्रतियोगितात्मक रूपमा प्रस्तुत गरिएको थियो । सो अवसरमा यादव सेवा संघका अध्यक्ष चिन्ताराम यादव, पूर्वअध्यक्ष दयाराम यादव, समाजसेवी अनुराग यादव, साहित्यकार हरि पोख्रेल, दीपककुमार यादवलगायतले मन्तव्य व्यक्त गरे । महोत्सवमा साहित्यकार जगतराम यादवद्वारा लिखित पुस्तक ‘गौरव’ लेख संग्रहको विमोचन गरिएको थियो । पुस्तकको समीक्षा देउखुरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद आचार्य र जनता उच्च मावि गढवाका प्राचार्य गोविन्द पौडेलले गरेका थिए । कार्यक्रममा अवधी भाषा साहित्यको संरक्षणमा योग्दान पुर्‍याएको भन्दै पत्रकारसहित सात जनालाई सम्मान गरिएको छ । पत्रकार अशोककुमार यादव, राधेश्याम गुप्ता, साहित्यकार भगवानदास यादव, सूर्यलाल यादव, गायक रामगोपाल यादव, निर्मला यादव र जयराम यादवलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया