पूर्वराजाको स्वागतका लागि तयारी

Purva-Raja-G-Shahaराजविराज, २६ जेठ । पूर्वराजा ज्ञानेन्द्रको जेठ २७ मा हुने आवागमनका लागि सप्तरीमा तामझाम सुरु भएको छ । इन्जिनियर विनोद पाण्डेको अध्यक्षतामा एक हजार आठ सदस्यीय मूल समारोह समिति गठन गरी उनको स्वागतका लागि तयारी सुरु भएको छ ।

पूर्वराजाको सप्तरी प्रवेश र फिर्ता हुने विषयमा समय तालिकासहित आयोजक समितिले शनिबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार पूर्वराजाले सप्तरीका विभिन्न मन्दिरहरूमा दर्शन गर्ने, सर्वसाधारणको स्वागत ग्रहण गर्ने, सुभचिन्तकसित भेट्ने लगायतका कार्यक्रम तय भएका छन् ।
पूर्वराजा सिमराबाट २७ गते (सोमबार) बिहान गाडीबाटै प्रस्थान गरी साढे १० बजे सप्तरी प्रवेश गर्नेछन् । शम्भुनाथ मन्दिरको दर्शन गरेर सुरु हुने उनको सप्तरी यात्रा ११ बजे राजविराज पुगेपछि रुपनी रोड कल्भर्टबाट पदयात्रा गर्दै अदालत रोड, राम मन्दिर, मिनी मार्केट, राजदेवी मन्दिर, कञ्चनपुर रोड हुँदै होटल स्टार डिलक्समा विश्राममा परिणत हुनेछ । मूल समारोह समितिले दिएको जानकारीअनुसार पूर्वराजा शाहले सोमबारै दिउँसो तीन बजे हनुमाननगरस्थित हनुमान मन्दिर, चार बजे भारदह पुगी पैदल यात्रा गर्दै कंकालिनी मन्दिर, रूपनगरस्थित विष्णु मन्दिरलगायतको दर्शन गरी पुन: रूपनी हुँदै राजविराजमा रात्रि विश्राम गर्ने कार्यक्रम तय भएको छ ।
पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिरको पूजाआजा र दर्शनको कार्यक्रम भने हालसम्म तय नभएको संयोजक पाण्डेले बताए । शाहको स्वागतका लागि स्थानीय स्तरमा समेत स्वागतका लागि उप–समितिहरू गठन गरिएको छ ।

प्रतिक्रिया