च्याट गर्लको नायक मै हुँ

Milan-Sangraulaझापाका मिलन संग्रौला अहिले ‘च्याट गर्ल’ कथासंग्रहका कारण चर्चामा छन् । उनीसँग गरिएको वार्ता–

च्याट गर्लबाट कस्तोखाले प्रतिक्रिया पाइरहनुभएको छ ?
एकदमै राम्रो । दिनहँ फेसबुक र जिमेलमा म्यासेज पाउँदै छु पाठकका । कतिले फेसबुकमा स्ट्याटस पनि राखेको देखेको छु । यसले मलाई पर्याप्त हौसला दिएको छ ।
तपाईंका कथाले पाठक सन्तुष्ट भएनन् रे नि ?
अहिलेसम्म कुनै पनि पाठक असन्तुष्ट भएर मसँग आएको छैन । जति प्रतिक्रिया पाएको छु सबै राम्रो पाएको छु । कसैकसैले केही सल्लाह र सुझाव पनि दिनुभएको छ । जहाँसम्म तपाईंले सुन्नुभएको असन्तुष्टीको कुरो छ, त्यसमा म के भन्छु भने यहाँ पूर्वाग्रही र नियोजित असन्तुष्टी पोख्ने पाठक (ती पाठक होइनन् अपाठक हुन्) छन् जसले किताब पढ्दै नपढी झुर छ भनेर हल्ला गर्दै हिँड्छन्, तिनलाई एकचोटि किताब पढ्न र पढेर सकारण असन्तुष्टी पोख्न च्यालेन्ज गर्छु ।
तपाईंको पाण्डुलिपी थुप्रै प्रकाशनबाट रिजेक्ट भएपछि तपाईं काठमाडांैलाई गाली गर्दै हिँड्नुहुन्छ रे †
म त्यसलाई रिजेक्ट भएको मान्दिनँ । रिजेक्ट हुन त अयोग्य हुनुपर्‍यो नि । थुप्रै प्रकाशन भन्ने कुरा पनि गलत हो । याम्बुरी बुक प्वाइन्ट पुग्नुअघि दुई प्रकाशककोमा पुगेको थिएँ । उनीहरूले सिधै नछाप्ने भनेनन् । केही समयचाहिँ झुलाएकै हुन् । अनि गालीको कुरो छ, म मान्छे नै सिधा । गाली शब्द मेरो शब्दकोशमा छैन । काठमाडौंको प्रवृत्तिप्रति कथासंग्रहको भूमिकामा अलिकति असन्तुष्टी मात्र पोखेको छु । यो मोफसलबाट सपना बोकेर छिर्ने हरेक युवकको असन्तुष्टी हो । गाली गर्दै हिँडेको भन्ने कुरो सोह्रैआना असत्य हो । अनि काठमाडौंको वातावरणमा भिज्दै गएपछि मैले बुझेँ, यदि म पनि प्रकाशकको ठाउँमा हुन्थेँ भने नयाँ लेखकलाई त्यसरी नै झुलाउँथेँ ।
मानिसको हातहातमा ल्यापटप, किन्डल र इन्टरनेट भएपछि फिक्सनको बिक्रीमा खतरा उत्पन्न हुन्छ, किताब पुरातात्विक महत्त्वको हुनेछ भन्छन् । तपाईंलाई के लाग्छ ?
नेपालमा त्यो समय आउन अझै निकै वर्ष लाग्ला । हातहातमा प्रविधि हुने पश्चिमा देशहरूमा हेर्नुहोस्, किताबको महत्त्व झन् बढिरहेको छ । फिक्सनको बिक्रीमा खतरा उत्पन्न हुन्छ जस्तो पनि लाग्दैन मलाई । यदि प्रविधिले प्रिन्टेट बुकलाई लोप गराउने स्थिति आयो भने पनि, पुस्तकहरू प्रविधिक रूपमै छापिन थाल्नेछन् । ई–बुकको अवधारणा व्यापक हुनेछ । कपिराइट प्रणाली दह्रो अपनाएर पाइरेसीबाट बचाउन सकियो भने त्यो झन् राम्रो हुनेछ लेखक र प्रकाशक दुवैका लागि ।
च्याट गर्ल कथा नै लेख्नु’भो । कोही गर्लसँग च्याटरुममा लभ परेको छ ?
हा.. हा.. हा † म त्यति सजिलै प्रेममा परिहाल्ने मान्छे होइन । च्याटमा हाई/हेल्लो र सामान्य कुराकानी त कतिसँग भए, गनिसाध्ये छैन । तर, विशेष रूपले प्रभावित पार्ने केही केटी भने छन् । त्यसलाई लभ नै भन्न अलिक नमिल्ला ।
च्याटरुममा भेटिएका तारहरूले जेलिएका सम्बन्ध पछि बेडसम्म पुग्छन् । यसबारे तपाईंको कुनै अनुभव ?
आजकालका केटाकेटीहरूका लागि च्याट अत्यन्तै सर्टकट बाटो भएको छ । तर, म आफूलाई अलिक भिन्न ठान्छु । म अलिक भावुक प्रकृतिको मान्छे छु । यदि कसैले मेरो मन जित्यो भने मात्र सम्बन्धलाई अघि बढाउन चाहने मान्छे म । आजसम्म च्याटबाटै मेरो भावना जित्ने केटी भेटेको छुइँन, सिवाय च्याट गर्लकी सोझी केटी । तर, विडम्बना ऊ बेपत्ता भइदिई र पो †
त्यसोभा’ च्याटगर्लको नायक तपाईं नै हो ?
हो । पहिलोपटक सार्वजनिक रूपमा भन्छु, च्याट गर्लमा मैले मेरै भोगाईलाई आख्यानीकरण गरेको छु । तर, आख्यानीकरण गर्दा मभन्दा अलिक भिन्न एउटा आमचरित्र निर्माण भएको छ ।
भर्खरै सकिएको पुस्तक प्रदर्शनीमा थुप्रै किताब स्वघोषित बेस्ट सेलर भए । प्रचारले किताब बिक्री भए होलान् । तर, पाठकले पढेपछि बेकार किनिएछ भन्ने किताबको लिस्टमा तपाईंको किताब छ कि छैन ?
यो मैलेभन्दा पनि कुनै पाठकबाट आउनुपर्ने उत्तर हो । अहिलेसम्म बेकारको पुस्तक भन्ने पाठक भेटेको छुइनँ । किताबको पानै नपल्टाई मनगढन्ते कुरा गरेर बेकार बनाउनेलाई मेरो भन्नु केही छैन । मलाई आफ्नो सिर्जनामा विश्वास छ । ‘बेकार किताब’ निकाल्नुभन्दा अघि लेखनबाटै राजीनामा दिन्छु बरु ।

प्रतिक्रिया