राजनीतिक बेइमानी गर्नु हुँदैन : सिंह

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभा निर्वाचनको मिति राजनीतिक सहमतिमा घोषणा गर्नुपर्ने बताएका छन् ।
भक्तपुरस्थित सानोठिमीमा आज (शुक्रबार) सीटीईभीटीका कर्मचरीहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सिंहले निर्वाचनलाई लिएर भएका पूर्व सहमति सबै दलहरुले कार्यान्वयन गर्नुपर्ने बताए । ‘निर्वाचनको मिति सहमतिमा घोषणा गर्नु पर्छ,’ उनले भने, ‘राजनीतिक बेइमानी कसैबाट हुनु हुँदैन ।’
वर्तमान सरकार राजनीतिक सहमतिमा बनेको बताएका महामन्त्री सिंहले सरकारका विरुद्ध अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरे । आफैले बनाएको सरकारको विरोध गर्ने केही दलको कार्यलाई उनले राजनीतिक बेइमानीको संज्ञा पनि दिए ।
उनले राजनीतिक दलहरुका बीच भएका सहमति कार्यान्वयन हुन नसके निर्वाचन पनि हुन नसक्ने बताए । ‘दलहरुले सहमति गर्ने, तर कार्यान्वयन भएन भने निर्वाचन हुँदैन,’ उनले भने ।
त्यसै गरी, सिंहले कांग्रेसको खुल्ला शिक्षानीतिका कारण प्राविधिक शिक्षाले राम्रो स्थान ओगटेको बताए । ‘कांग्रेसका कारण प्राविधिक शिक्षमा सबैको पहुँच भएको छ,’ उनले भने, ‘शिक्षालाई सहज पहुँच र नैसर्गिक अधिकारमा राख्नु पर्छ ।’
प्राविधिक शिक्षालयहरुका कमिकमजोरी रहेका बताएका महामन्त्री सिंहले त्यसलाई सुधार गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘आलोचना र टिकाटिप्पणीलाई ध्यान दिएर प्राविधिक शिक्षालयले आफूलाई सुधार गर्नु पर्छ ।’
यसैबीच, महामन्त्री सिंह आजै राति जापान जाँदै छन् । जापानस्थित कांग्रेस निकट जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन सिंह त्यस तर्फ जान लागेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया