आरक्षण सिट कार्यान्वयन नगर्ने १७७ सवारीसाधन कारबाहीमा

काठमाडौं, २४ जेठ । सार्वजनिक सवारीसाधनमा छुट्याइएको आरक्षण सिटको सही कार्यान्वयन नगर्ने एक सय ७७ सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक हप्ता अघिबाट सार्वजनिक सवारी साधनले अरक्षण सिटको सही कार्यान्वयन गरे/नगरेको भन्दै १६ जेठबाट अनुगमन सुरु गरेको थियो । महाशाखाले एक हप्तामै अरक्षण सिटको सही कार्यान्वयन नगर्ने एक सय ७७ सवारीसाधनलाई कारबाही गरेको हो ।
महाशाखाको सक्रियतामा राष्ट्रिय महिला आयोगसहित दर्जन सरकारी तथा गैरसरकारी संघसंस्थाले १ वैशाखबाटै सार्वजनिक सवारीसाधानमा अनुगमन कार्य सुरु गरेको थियो । त्यसअन्तर्गत कार्यान्वयन नभएका सवारी साधनलाई सम्झाई बुझाई गर्ने, चेतना जागृत गर्ने, आरक्षण सिट नलेख्ने सवारी साधनलाई लेख्न लगाउने, आरक्षित सिटमा बस्ने पुरुष वा अन्य व्यक्तिलाई उठाएर महिला तथा अपांगता भएका व्यक्तिलाई बसाउने लगायतका कार्यहरू भएको महाशाखाले जनाएको छ ।
एक महिने जनचेतनापश्चात मात्रै कारबाही अभियान सुरु गरिएको महाशाखाका प्रवक्ता डिएसपी पवन गिरीले बताए । ‘जनचेतनामूलक एक महिने अनुगमन अवधि पश्चात् ट्राफिक प्रहरीले आरक्षण सिट कार्यान्वयन नगर्ने सवारी साधनलाई सम्झाई बुझाई गर्नुका साथै कारबाही गर्न सुरु गरेको छ’, डिएसपी गिरीले भने ।
डिएसपी गिरीका अनुसार आरक्षण सिटको कार्यान्वयनमा ट्राफिक प्रहरी र महिला अधिकारवादी संस्थाहरूको सक्रियतापश्चात् सार्वजनिक सवारी साधनका चालक, परिचालकहरूले यसको कार्यान्वयनका लागि अग्रसरता देखाउन थालेका छन् । ‘महिला र अपांगता भएका व्यक्तिहरू समेत स्वत:स्फुर्त रूपले आफ्नो अधिकार उपयोगमा जागरुक भएको पाइएको छ । यसैगरी सार्वजनिक सवारीसाधनका अन्य यात्रुसमेत आरक्षण सिटको कार्यान्वयनतर्फ सचेत देखिन थालेका छन्’, उनले भने ।

प्रतिक्रिया