पानी आएपछि परिवर्तन

Pani-Ko-Dhaaraदैलेख २३ जेठ । जिल्लाको सिगौडी–६ साइगाउँकी ७२ वर्षीया धना शाही बुढेसकालमा दुई वर्षअघिसम्म गोडेतस्थित कर्णाली नदीबाट पानी ल्याएर खाने गर्थिन् । अहिले आएर भने आगनमै धाराबाट पानी पाउँदा दंग छिन् । करिब एक किलोमिटर टाढा रहेको नदीको पानी प्रयोग गरेर उमेरका सात दशक पार गरेकी उनलाई अब चाहिँ हाइसञ्चो भएको छ ।

‘घर आगनमा यसरी पानी बगिरहेको देखुला भन्ने मैले सपनामा पनि सोचेकी थिइन । धारामा पानी भर्दै गरेकी उनले खुसी हँुदै भनिन्, ‘हाम्रो छावल(हाम्रो उमेरका मान्छे) दुखारी रहेछौँ । सर हामी अलि पहिले जन्मिएछौँ ।’
धनाजस्तै दैलेखको पश्चिममा रहेको सिगौडी–६ साइगाउँका बासिन्दाले वर्षौँदेखि कर्णाली नदीको धमिलो पानी पिउँदै आएका थिए । गाउँमा पानीको मुहान थिएन । सिंगै गाउँ नदीको पानी पिउन बाध्य थियो । वर्षातको समयमा त कयौँले झाडापखालाबाट ज्यानै गुमाउनुपरेको थियो । उक्त गाउँका बासिन्दा धौलाकोट खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएपछि नदीको धमिलो पानी पिउन नपरेको हो ।
७० घरधुरी रहेको उक्त गाउँमा हाल ६७ वटा धारा छन् । ‘नदीबाट पानी ल्याउने दिन गए घर आँगनमा नै धाराबाट पानी बगिरहेको छ । यो सबै हेल्भेटास र स्याक संस्थाले बनाइदिएको हो,’ स्थानीय काली विकले भनिन् । घरघरमा निर्मित धाराबाट नियमित पानी आउन थालेपछि गाउँमा परिवर्तनसमेत भएको छ । गाउँलेले तरकारी खेती लगाएर आयआर्जन पनि प्रशस्त गर्न थालेको धौलाकोट खानेपानी तथा सरसफाइ योजना समितिका अध्यक्ष कर्णबहादुर शाहीले बताए ।
खानेपानी योजनाबाट ७० घरधुरीका करिब एक हजार जना लाभान्वित भएका छन् । समिति गठन गरी दलित तथा अपांगबाट मासिक ७० रुपियाँ र अन्य जातीबाट ८० रुपियाँ उठाई पानीका धारा तथा च्याम्बरको रेखदेख गर्न मासिक चार हजार दिने गरी चौकिदारको व्यवस्थासमेत गरिएको समितिका सदस्य कलम शाहीले बताए । उनका अनुसार १० घर दलित छन् ।
घरआँगनमै पानीको सुविधापछि अहिले घरघरमा शौचालयसमेत निर्माण गरिएको छ । गाउँ नै सरसफाइ गरेर चिटिक्क देखिनुका साथै गाउँलाई नै खुला दिसामुक्त घोषणा गरिएको छ । पानीको स्रोत नभएको गाउँमा आकाशे पानी संकलन ‘घैटो कार्यक्रम’ ल्याएर पनि पिउने पानीको विकल्प जुटाइदिएको हेल्भेटासका टिम लिडर मदन भट्टले बताए । पिउने पानीदेखि लिएर सिंचाइ कुलो तथा पोखरी, तरकारी खेती सुरक्षीत खाद्यन्नलगायका योजनामा वार्षिक अरबौँ लगानी गर्ने गरेको र त्यसबाट जनताहरूमा निकै परिवर्तन आएको सामाजिक जागरण केन्द्र स्याक नेपालका कार्याक्रम संयोजक टिकाराम आचार्यले बताए ।
गाउँमा जिल्ला विकास समितिदेखि विभिन्न संघसस्थाले पटक–पटक पिउने पानीको योजना बनाए पनि विवादले सफल हुन सकेका थिएन ।

प्रतिक्रिया