हेल्थपोस्ट निर्माण विवादमा कुटाकुट

Rautahatरौतहट, २३ जेठ । रौतहटको बगही गाविसमा हेल्थ पोस्ट भवन निर्माणका लागि जग्गा छनोट विवादपछि गाउँलेबीच झडप हँदा २५ जनाभन्दा बढी घाइते भएका छन् । हेल्थ पोस्ट निर्माणको विषयमा एक सातादेखि चल्दै आएको विवादले उग्ररूप लिएपछि मंगलबार राति फतेपुर र बगहीका बासिन्दाबीच कुटाकुट भएको हो ।

गाविस सचिव र उपस्वास्थ्य चौकीका इन्चार्जको लापरवाहीले झडप भएको स्थानीयवासीले आरोप लगाएका छन् । विवादले उग्ररूप लिएपछि स्थानीयले उक्त गाविसमा नागरिकता वितरण गर्न गएको टोलीलाई पनि तीन घन्टाम बन्धक बनाएका थिए ।
स्थानीयका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले बगही गाविसमा हेल्थ पोस्ट भवन निर्माण गर्ने भनी पत्र पठाए पनि गाविस सचिव र उपस्वास्थय चौकी इन्चार्जले लापरवाही गर्दा विवाद चर्किएको हो । पत्रमा स्वास्थ्य कार्यालयले जग्गा छनोट तथा लागत अनुमान गराई पठाउनका लागि २८ चैतमा बगही गाविसमा पत्र पठाएको थियो ।
वडा नम्बर १ देखि ४ सम्म फत्तेपुर टोल र ५ देखि ९ सम्म बगही गाउँमा पर्छन् । फत्तेपुरका बासिन्दाले दुवै पक्षलाई पायक पर्ने स्थान जलैया पुलनजिक जग्गा छनोट गर्न आग्रह गर्दा केही व्यक्ति बगही गाँउबाहिर बन्न नसक्ने अडान राखेपछि झडप भएको हो । फत्तेपुर टोलका बासिन्दाले पायक पर्ने स्थानमा जग्गा छनौट गर्न गाविस सचिवलाई आग्रह गर्दा बगही गाउँकाले फत्तेपुरका चन्द्रजोत महतोलाई मंगलबार निर्ममतापूर्वक कुटपिट गरेपछि विवाद झडपमा परिणत भएको थियो । सोही गाविसमा नागरिकता वितरण टोलीले काम गरिहरेकोले काम प्रभावित नहोस भनेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत वसन्त न्यौपाने र प्रहरी नायव उपरीक्षक दीपक अधिकारीले विवाद साम्य पार्न खोज्दा स्थानीय झन आक्रोशित बनेका थिए । करिब चार घन्टासम्म झडप भएको एमाले भातृ संगठन युवा संघका पूर्वसचिव राजदेव सहनीले बताए । एमालेका पूर्वजिल्ला सचिव महमद रजिउदिन आलमका अनुसार घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले जग्गा छनोटको विषयमा विवाद भई झडप भइरहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै स्थितिलाई नियन्त्रणमा लिएर फर्किएको जानकारी दिए ।

प्रतिक्रिया