कमलरी आन्दोलन लम्बिँदै

kamlari-Deukhuri-Sourya-Daiदेउखुरी, २३ जेठ । कमलरी बसेकी बालिकाको रहस्यमय मृत्युबारे छानबिनको माग गर्दै जारी आन्दोलन छिट्टै नरोकिने संकेत देखिएको छ । मंगलबारदेखि तराईका २२ जिल्लामा अनिश्चितकालीन बन्द गरिरहेका छन् ।

आन्दोलनरत पूर्व कमलरीहरूका माग सम्बोधन गर्न सरकारले चासो देखाएको छैन भने आन्दोलनकारीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिइरहेका छन् । बन्दका कारण पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराईका २२ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
सार्वजनिक यातायातका सवारी साधन चल्न सकेका छैनन् भने बजार, शिक्षण संस्था, कलकारखाना खुलेका छैनन् । कमलरी हत्यामा संलग्नलाई कारबाही तथा बेपत्ता कमलरीहरूको अवस्था सार्वजनिक गरिनुपर्ने माग आन्दोलनरत पूर्वकमलरीहरूको छ ।
आफूहरूले उठाएको माग पूरा नहुँदासम्म आन्दोलन स्थगित नगर्ने उनीहरूले बताएका छन् । तराईका जिल्लामा दिनहुँ पूर्वकमलहरीले प्रदर्शन गरिरहेका छन् । काठमाडौं र तराईका जिल्लामा पूर्वकमलहरीले आन्दोलन चर्काए पनि सरकारबाट माग सुनुवाई हुन नसक्दा समस्या परेको थारू नेता योगेन्द्र चौधरीले बताए । ‘कमलहरीहरू सडकमा छन् तर सरकार मुकदर्शक बनेको छ, कमलरीहरूको आन्दोलन उनीहरूले उठाएको माग सम्वोधन नहुँदासम्म स्थगन हुँदैन्’, उनले भने ।
काठमाडौंमा भइरहेका वार्ता विनानिष्कर्ष टुङ्गिएको खबरले आन्दोलन लम्बिने संकेत देखिएको छ । लमहीमा बुधबार पनि पूर्वकमलरीले प्रदर्शन गर्दै दोषी उपर कारबाहीको माग गरे ।

विनानिष्कर्ष सकियो वार्ता
काठमाडौं : सरकार र आन्दोलनरत कमलरीबीचको वार्ता बुधबार पनि विनानिष्कर्ष सकिएको छ । कमलरी संघर्ष समितिले सिर्जना चौधरीका हत्यारा तत्काल पक्राउ गर्न माग गरेको र सरकारी पक्षले भने पहल गरिने तर तत्काल समाउन सम्भव नभएको बताएपछि वार्ता विनानिष्कर्ष सकिएको हो ।
वार्तामा सहभागी पूर्वसभासद् शान्ता चौधरीले सरकार आफूहरूको मागप्रति सकारात्मक नभएकाले वार्ता अघि नबढेको बताइन् । ‘हामीले तत्काल पक्राउको माग गर्‍यौँ तर त्यसमा सरकार गम्भीर भएन’, उनले भनिन्– ‘हाम्रो पहिलो सर्त भनेकै दोषीलाई पक्राउ गरियोस् भन्ने हो, त्यसो नहुँदा छलफल अघि बढेन ।’
यसअघि सरकारसँग मंगलबार भएको वार्ता पनि विनानिष्कर्ष सकिएको थियो । संघर्ष समितिले प्रहरी दमनको छानबिन हुनुपर्ने, कमलरीका गहना र पैसा लुट्ने प्रहरीलाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै आएको छ ।

प्रतिक्रिया