स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारलाई आठबुँदे सुझाव

काठमाडौं, २२ जेठ । देशको समग्र स्वास्थ्य अवस्था र चिकित्साशास्त्र अध्ययनको गुणस्तर विकासका लागि युनाइटेड नेसन युथ एन्ड मेडिकल स्टुडेन्ट एसोसिएसन नेपालले सरकारलाई आठबुँदे सुझाव दिने भएको छ । एसोसिएसनले नेपालमै पहिलोपटक आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन ‘मेडिकल स्टुडेन्ट नेसनल कन्फ्रेन्स’मा स्वास्थ्य शिक्षा र सेवाको गुणस्तर सुधार र विकासका लागि भएका आठबुँदे निर्णयलाई सरकारसमक्ष पेस गर्ने भएको हो । एसोसिएसनका मेडिकल निर्देशक प्रकाश बञ्जाडेले सम्मेलनले दुर्गम क्षेत्रको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले बढी काम गर्नुपर्नेमा जोड दिएको बताए । उनका अनुसार सम्मेलनले सबैभन्दा पहिला चिकित्साशास्त्र (एमबिबिएस)को पाठ्यक्रममा अनिवार्य रूपमा दुर्गम क्षेत्रको सेवालाई प्राथमिकता दिने खालको पाठ्यक्रम समावेश गर्ने निर्णय गरेको छ ।

सम्मेलनले गरेका अन्य निर्णयमा एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न सयममा मेडिकल कलेजबीच विद्यार्थी साटफेरको व्यवस्था गर्नुपर्ने, एमबिबिएस तहबाटै डाक्टर–बिरामीबीचको सञ्चारका विषयमा पढाउनुपर्ने, एमबिबिएस तहबाटै विद्यार्थीलाई सुपर स्पेयालिटी अस्पतालमा लगेर अध्यापन गराउनुपर्ने, दुर्घटना तथा आकस्मिक विपद्को व्यवस्थापन समाधानको विषयमा अनिवार्य पढाउने तथा तालिम दिनुपर्ने, एमबिबिएस तहमै मानसिक र बूढाबूढीको उपचार सेवाको जानकारी गराउनुपर्ने, चिकित्सकलाई समाजप्रति उत्तरदायी बनाउन विद्यार्थीकालदेखि नै सामाजिक कार्यमा सहभागी गराउनुपर्ने र चिकित्सकीय नैतिक शिक्षाबारे सुरुदेखि नै जानकारी गराउनुपर्ने रहेका छन् ।
एसोसिएसनका नेसनल को–अर्डिनेटर क्षितिज भुजेलका अनुसार चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सुरुदेखि नै दुर्गम तथा गरिब जनताको सेवा भावमा लाग्न प्रेरणा दिने खालको वातावरण बनाउन सहयोग मिलोस् भनेर एसोसिएसनले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, विश्वविद्यालय र मेडिकल कलेजमा यी सुझाव कार्यान्वयन गर्नका लागि दिन लागिएको हो । यी निर्णय कार्यान्वयनमा ल्याउन सहयोग पुर्‍याउनका लागि चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघलाई पनि आग्रह गरिने उनले बताए ।
एसोसिएसनले चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीको पहिलो सम्मेलन चितवनको चितवन मेडिकल कलेजमा १६ देखि १८ जेठसम्म गरेको थियो । सम्मेलनमा नेपालका १४ मेडिकल कलेजका तीन सय ५० भन्दा बढी प्रतिनिधि सहभागी थिए । नेपालमा चिकित्साशास्त्र अध्ययनको सुरुवात भएको ३५ वर्ष पुगिसके पनि हालसम्म चिकित्साशास्त्र पढ्ने विद्यार्थीको सम्मेलन हुन सकेको थिएन ।
‘स्वस्थ नेपाल हाम्रो जिम्मेवारी, टुगेदर फर चेन्ज’ भन्ने नारा बोकेको सम्मेलनमा विद्यार्थीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे डाइरेक्टर बञ्जाडेले कार्यपत्र प्रस्तुत गरेका थिए । मेडिकल शिक्षामा अनुसन्धानबारे अदिती अग्रवाल, स्वास्थ्य सेवाको अवस्थाबारे क्षितिज भुजेल, ग्रामीण स्वास्थ्य सेवाबारे स्वेच्छा न्यौपाने तथा स्वास्थ्य सेवाको व्यापारीकरणबारे श्याम लौडारी, मेडिकल शिक्षाबारे कृष्णहरि खनाल, हिंसात्मक गतिविधिले विद्यार्थीमा पारेको प्रभावबारे आशिष मैनाली, समुदायमा आधारित मेडिकल शिक्षा विषयमा जितेन्द्र भण्डारीलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
देशभरका कलेजबाट विद्यार्थीको प्रतिनिधित्व रहने सम्मेलनमा मेडिकल विद्यार्थीका समस्या, पढाइमा अन्तरदेशीय भिन्नता, विद्यार्थीको दायित्व, एकतालगायत विषयमा छलफल भएको भुजेलले जानकारी दिए । सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल चिकित्सक संघ, नेपाल रेडक्रस सोसाइटी, औषधि उत्पादक कम्पनीलगायत संस्थाबाट पनि प्रतिनिधिका रूपमा सहभागी थिए ।

प्रतिक्रिया