प्रहरीको कुटाइबाट दुई जना बेहोस

1देउखुरी, २१ जेठ । दाङमा मुक्तकम्लहरीको धर्नामा सोमबार प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रशासन कार्यालयको मूल गेट बन्द गरेर धर्ना तथा नारा जुलुस गर्दै गरेका मुक्त कम्लहरीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरी धरपकड गर्दा चार प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीले धरपकड गर्दा मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीसहित सीता चौधरी, ज्ञानु थापा र अनिता चौधरी गम्भीर घाइते भएका हुन् । मञ्जिता र सीता बेहोस् रहेको एफएनसीका सहायक परियोजना प्रबन्धक पूर्णप्रसाद चौधरीले जानकारी दिए । घाइतेहरूको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । ‘प्रहरीले शान्तिपूर्ण धर्नामा लाठ्ठी चार्च गर्‍यो,’ चौधरीले भने, ‘चार जना मुक्त कमलहरी बालिका घाइते भएका छन् ।’
धर्नामा बसेका ५० भन्दा बढि मुक्त कमलरीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले भने उनीहरू कुटपिटबाट नभई कराउँदा–कराउँदै बेहोस् भएको दाबी गरेको छ । प्रदर्शनकारीले प्रहरी हस्तक्षेपछि जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी दमन बन्द गर्, दोषीलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।
आइतबार सिंहदरबार घेराउ गर्दा मुक्त कमलरीमाथि प्रहरीले धरपकड गर्दा २५ जना घाइते भएका थिए । प्रहरीको कुटाइबाट बेहोस् भएका पाँच जनाको अझै होस् खुलेको छैन । उनीहरूको माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । बालिका बचाउ आन्दोलनअन्तर्गत उनीहरूले कमलरी राख्नेमाथि कारबाही, कमलरी सिर्जना चौधरीको रहस्यमय मृत्यु तथा बेपत्ता कमलरीको खोजबिन, मुक्त कमलरी छात्रवृति वृद्वि गर्नुपर्नेलगायतका माग राखी तीन दिनदेखि जिल्ला प्रसासन कार्यालय परिसरमा आन्दोलन गर्दै आएका थिए । उनीहरूले सोमबार साढे ११ बजेदेखि जिल्ला प्रसासनको गेट बन्द गरेर धर्ना बसेका थिए ।
यसैबीच, दाङ लालमटीयाकी सिर्जना चौधरीको जलेर मृत्यु भएको भन्ने घटनाको अनुसन्धान र कमलरीमाथि भइरहेको यौनशोषणको छानबिन गर्न माग गदै काठमाडांै केन्द्रित आन्दोलनमा रहेका मुक्त कमलरीले सोमबार पनि आन्दोलन जारी राखेका छन् । सोमबार सिंहदरबार घेराऊ स्थगन गरी शान्तिबाटीकामा मात्रै अनशन जारी राखेको कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिले जनाएको छ । थपआन्दोलनका कार्यक्रम तय गरिने संघर्ष समितिका संयोजक फकला थारूले जानकारी दिइन् । ललितपुरको एक घरमा कमलरी बसेकी सिर्जनाको १४ चैतमा  जलेर मृत्यु भएको भन्ने खबरबाहिर आएको थियो ।

प्रतिक्रिया