कमलरीमाथि भएको प्रहरी ज्यादतीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं, २० जेठ । कमलरी अधिकारका लागि सिंहदरवार अगाडि धर्ना दिन बसेका कमलरीमाथि प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै मानवअधिकारकर्मीले आपत्ति जनाएका छन् । हिजो सिंहदरवार दक्षिणढोका पुगेका कमलरीहरूमाथि प्रहरीले हस्तक्षेप गर्दा १० जना भन्दा बढी पूर्वकमलरी घाइते भएका थिए ।
मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्था ईन्सेक नेपालले आज विज्ञप्ती जारी गर्दै प्रहरी दमनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न पाउने संवैधानिक अधिकारको उपयोग गरिरहेका पूर्व कमलरीको आन्दोलनमा प्रहरीद्वारा गरिएको हस्तक्षेपको हामी भत्सर्ना गर्दछौँ ।’ ईन्सेकले पूर्व कमलरीले राखेका जायज माहरूको उचित सम्बोधन गर्न, घटनामा घाइते भएका कमलरीहरूको स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा वार्ताद्वारा समस्याको समाधान गर्न सरकारसँग माग गरेको छ ।
ललितपुरस्थित युवराज पौडेलको घरमा कमलरीको रुपमा बसेकी १२ वर्षीया सिर्जना चौधरीको हत्यामा संलग्नलाई कारवाही हुनुपर्ने, कमलरीहरूका लागि परिचयपत्रको व्यवस्था गरिनुपर्ने, कमलरी सम्बन्धी कानुन संशोधन गरी उचित व्यवस्था अनुसार कमलरीहरूको जल्दाबल्दा समस्याहरूको समाधान गरिनुपर्ने, सरकारले पूर्वकमलरीहरूलाई प्रदान गर्दै आएको प्रतिव्यक्ति ५ हजार रुपियाँ सहयोग अपुग भएकोले त्यसलाई बढाउनुपर्ने लगायतका माग राखी जेठ १४ गतेबाट पूर्वकमलरीहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया