जितपुरमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौ : धनकुटाको व्यापारिक केन्द्र जितपुरमा राष्ट्रिय वाणिज्य बैंकको  विस्थापित कार्यलयको पुन: स्थापना गरेको छ ।  यो बैंकको एक सय ४३ शाखा हो । २०३८ सालमा स्थापना भई कमजोर शान्ति सुरक्षाको कारण ०५८ सालमा शाखा कार्यालय धनकुटामा  गाभिई सञ्चालन हुँदै आएको सो शाखा स्थानीय जनताको  माग एवं व्यावसायिक संभाव्यतालाई दृष्टिगत गरी पुन:स्थापना गरिएको बैंकले जनाएको छ ।
पुनस्र्थापित शाखा कार्यालयको धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी रामेश्वर दंगालले उद्घाटन गरेका हुन् । सो अवसरमा प्रमुख अतिथि दंगाल, राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय ब्रान्च अपरेसन विभागका प्रमुख ओमप्रकाश आचार्य, धनकुटा जिल्लाका स्थानीय विकास अधिकारी, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष, जनता क्याम्पस धनकुटाका प्रमुख, जितपुर गाविसका अध्यक्ष लगायतका वक्ताले मन्तव्य दिएको पनि बैंकले जनाएको छ ।
पूर्ण सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले मुलुकभरका १ सय ४३ शाखा कार्यालय १० वटा काउन्टर ९ वटा ब्रान्चलेस बैंकिङ र ५० स्थानमा आफ्नै एटिएम आउटलेटमार्फत देशभर १८ लाख बढी ग्राहकलाई बैंकिङ सेवा पुर्‍याउँदै आएको  छ । ०६९ चैतसम्म ८५ अर्ब ८९ करोड निक्षेप संकलन गरी ४५ अर्ब १० करोड कर्जा प्रवाह गरेको यस बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया