चुनाव स्थगनको विरोधमा तालाबन्दी

काठमाडौं, १८ जेठ । यही २३ जेठमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव स्थगन गरेको विरोधमा अनेरास्ववियु छैटौँले त्रिभुवन विश्वविद्यालय पदाधिकारीको कार्यकक्षमा ताला लगाएको छ ।
त्रिविले एकलौटी रूपमा चुनाव स्थगन गरेको भन्दै अखिल छैटौँले शुक्रबार मध्याह्न त्रिविका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको हो । छैटौँले दुई अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघबीचको विवादका कारण त्रिविले एकलौटी रूपमा चुनाव स्थगनको निर्णय गरेको जनाएको छ ।
छैटौँका अध्यक्ष अनिलकिशोर घिमिरेले चुनावको मुखमा एक्कासि त्रिविले आफूहरूसँग छलफल नगरी स्थगित गरेकाले ताला लगाइएको जानकारी गराए । उनले चार वर्षपछि पनि स्ववियु चुनाव केही ठूला विद्यार्थी संठगन र त्रिविको कारण हुन नसकेको दाबी गरे । ‘चार विद्यार्थी संगठनसँग त्रिवि झुकेर चुनाव स्थगन गरेको छ,’ उनले भने, ‘यो त्रिवि पदाधिकारीको लाचारीपन हो । आफैँले चुनाव घोषणा गर्ने अनि आफैँ गराउन नसक्ने पदाधिकारीविरुद्ध ताला लगाइएको हो ।’
यसअघि नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना खारेजीको माग गर्दै विभिन्न क्याम्पसमा प्रमुखको कार्यकक्षमा र एमाओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले ताला खोल्न माग गर्दै क्याम्पसका निर्वाचन कार्यालयमा ताला लगाएका थिए ।
छैटौँले चुनावको नयाँ मिति घोषणा नगरेसम्म ताला नखोल्ने जनाएको छ । साना विद्यार्थी संठगनलाई बाइपास गरेर एकलौटी रूपमा त्रिविले चुनाव स्थगन गरेको घिमिरले आरोप लगाए ।  त्रिविले फर्जी भर्नाका विषयमा चार विद्यार्थी संगठनबीच विवाद बढेपछि बिहीबार चुनाव अनिश्चित कालका लागि स्थगन गरेको थियो ।
यसैबीच, स्ववियु चुनाव स्थगनको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार देशभर दुई घन्टा प्रदर्शन गरेको छ । त्रिविले एक्कासि चुनाव स्थगन गरेर विद्यार्थीको हकअधिकार कुण्ठित गरेको भन्दै संघले चुनावको माग गर्दै प्रदर्शन गरेको हो ।

प्रतिक्रिया