दोलखाकामा दुई सीमास्तम्भ नष्ट

दोलखा, १८ जेठ ।  नेपाल र चीनको सिमानामा पर्ने दुईवटा सीमास्तम्भ नष्ट भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । चीनको स्वाशासित क्षेत्र तिब्बतको सिमाना रहेको ५७ र ६० नम्बर पिलर नष्ट भएको प्रतिवेदन जिल्ला प्रशासन दोलखाले गृह मन्त्रालयलाई पनि पठाइसकेको छ ।
दोलखाको गौरिशंकर गाविस र लामाबगरको सिमानामा पर्ने यी दुवै पिलर पहिरोले पुरिएर नष्ट भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । एक सय २० किलोमिटर लामो सिमानामा रहेको दोलखामा पर्ने सात सीमास्तम्भमध्ये ५७  र ६० नम्बर पिलर नष्ट भएको र ५६ नम्बरको पिल्लर तत्कालै पहिरोले लानसक्ने अवस्थामा रहको जिल्ला प्रशासनको  प्रतिवेदनमा उल्लेख छ ।
नेपाल–चीन सिमानामा ५५, ५६, ५७, ५८, ५९, ६० र ६१ नम्बरका मझौला खालका सातवटा पिलरमध्ये ५७ नम्बरको पिल्लर स्तम्भ १८ हजार फिटको उचाइमा रहेको छ । यता जिल्ला प्रशासन कार्यालय दोलखाले सीमास्तम्भ पहिरोले क्षति भए पनि अतिक्रमण नभएको जनाएको छ । सदरमुकाम चरिकोटबाट सीमास्तम्भ रहेको स्थानसम्म जान ६० किलोमिटर गाडीको यात्रापछि ५ दिनको पैदल यात्रा गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया