दुई महिनापछि अपहरणमुक्त

रौतहट, १८ जेठ । दुई महिनाअघि अपहरणमा परेका मत्सरी–८ रौतहटका १८ वर्षीय रामचन्द्र साह शुक्रबार मुक्त भएका छन् । उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले रौतहटको राजपुर फरहदवा–३ बाट सकुशल अपहरण मुक्त गराएको हो ।
साहको गत १७ चैत्रमा अपहरण गरिएको थियो । घरायसी कामले सीमावर्ती भारतीय बैरगनिया गएका बेला उनी अपहरणमा परेका थिए । मत्सरी–८ का फेकु साह बनियाँका १८ वर्षीय एक मात्र छोरा उनी अपहरणमा परेपछि घरपरिवारमा खुसी हराएको थियो ।
अपहरण गरिएपछि केही अज्ञात व्यक्तिले ८४१५९८३९१३ को भारतीय नम्बरबाट फोन गरी सुरुमा एक करोड फिरौती मागेका थिए । विभिन्न धाकधम्कीसहित आउने अपहरणकारीको फोनमा फिरौतीको रकम बिस्तारै घटदै गएर पच्चीस लाखमा पुगेको थियो ।
भारतीय नम्बरबाट अज्ञात व्यक्तिले रकम नदिए छोराको ज्यान मार्ने धम्की दिन थालेपछि अपहरितका बाबु फेकु साहले स्थानीय पत्रकार तथा प्रशासनसमक्ष छोरालाई सकुशल फर्काउन पहल गरिदिन आग्रह गरेका थिए । प्रहरीलाई दबाब दिन स्थानीयले सदरमुकाम गौरमा प्रदर्शनसमेत गरेका थिए ।
अपहरणमुक्त गराइएका साहलाई पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । अपहृत युवक भारतको घोडासहन भन्ने स्थानमा रहेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेपछि अपहरणकारीले युवकलाई नेपालतर्फ ल्याएका थिए ।

प्रतिक्रिया