बसमै सुत्केरी

प्युठान, १८ जेठ । सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा पूजा–९ ठूलाचौरकी २१ वर्षीय ईश्वरा केसीले शुक्रबार बसमै छोरी जन्माएकी छिन् । तर, नवजात छोरीको मृत्यु भएको छ ।
अस्पताल आउँदै गर्दा धर्मावतीको बाग्दुलामा सुत्केरी भएकी थिइन् । बिहीबार दिउँसोदेखि व्यथा लागे पनि यातायातको असुविधाका कारण शुक्रबार मात्र ईश्वरा अस्पताल हिँडेकी थिइन् । जन्मिँदा नै आवाज नआएपछि छोरीको मृत्यु भएको उनले थाहा पाएकी थिइन् । बिहान ९ बजेदेखि पेटमा बच्चा चल्न छाडेको ईश्वराले बताइन् । उनका श्रीमान् नेपाल प्रहरीमा हुम्लामा कार्यरत छन् । उनी ससुरासँग अस्पताल जान लागेकी थिइन् ।
बसमै सुत्केरी भएपछि उनको बाग्दुलास्थित स्वर्गद्वारी लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ । किशोरीको अवस्था सामान्य रहेको उपचारमा संलग्न डा. सुवास जिसीले बताए । पारिवारिक हेलचक्रयाइँका कारण बच्चा बच्न नसकेको डा. जिसीले बताए । स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउन गएको भए पनि बच्चा बच्नसक्ने उनले बताए । स्वास्थ्यचौकी गाविसवासीको पायक नपर्ने भन्दै अधिकांश महिला घरमै सुत्केरी हुने गर्दछन् ।

प्रतिक्रिया