‘डन’ लामाले काभ्रेबाट चुनाव जित्ने गच्छदारको दाबी

ganesh-lamaकाठमाडौं, १८ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले स्रोत नखुलेको करोडौँ सम्पत्ति रहेको भन्दै अदालतमा मुद्दा खेपिरहेका गुन्डानाइके गणेश लामाले काभ्रेबाट चुनाव जित्ने दाबी गरेका छन् । लामालाई फसाउन राज्य नै लागेको गच्छदारको दाबी छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका गच्छदारले लामालाई फसाउन सरकार पूर्वाग्रही रूपमा लागेको दाबी गरे । अवैधानिक सम्पत्ति आर्जन गरेको भन्दै राज्यवाट आरोपित लामाको मनोबल गिराउन विभिन्न पक्ष लागेको उनको आरोप छ । ‘गणेश लामाको विषय सब जुडिस्टको विषय हो । अहिले उनलाई फसाउन राज्य पक्षले टर्चर दिइरहेको छ,’ गच्छदारले भने, ‘त्यो जायज छैन ।’
स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको आरोप लाग्दैमा लामालाई पार्टीबाट नहटाउने बताउँदै गच्छदारले आगामी संविधानसभा चनाुवमा लामाले काभ्रेबाट चुनाव जित्ने ठोकुवासमेत गरे । ‘गणेश लामाजीले आउने चुनावमा काभ्रेबाट चुनाव जित्नुहुन्छ, फसाउने नियतसहित राज्यले लगाएको मुद्दाका आधारमा उहाँलाई पार्टीबाट हटाउने कुरै छैन,’ गच्छदारले भने । लामा गच्छदारको पार्टीका केन्द्रीय सदस्य हुन् ।
अपराधबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै लामामाथि राज्यका तर्फबाट सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको छ । तर, चार दलीय उच्चस्तरीय राजनीतिक समितिको एक नेताका रूपमा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टीका केन्द्रीय सदस्य रहेका लामालाई चुनाव जित्ने नेता भएको जिकिर गरे ।
निर्वाचन ऐनका विषयमा दलहरूबीच विवाद कायम रहेका बेला फौजदारी अभियोग लागेका व्यक्तिले चुनावमा भाग लिन पाउने वा नपाउने विषयमा दलहरूबीच चर्को विवाद छ । एमाओवादी र मधेसी दलले फौजदारी अभियोग लागेका व्यक्तिले पनि चुनावमा उम्मेदवार बन्न पाउनुपर्ने र उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्नु नपर्ने अडान लिइरहेका छन् ।  यस्तो बेला गच्छदारले लामाले आगामी चुनावमा उम्मेदवार हुने र चुनाव जित्ने दाबी गरेका हुन् ।
शुक्रबार पत्रकार टोलीसँग कुरा गर्दै गच्छदारले सोमबार बस्ने उच्चस्तरीय समितिको बैठकले निर्वाचन ऐनसम्बन्धी अध्यादेशका विमतिहरूमा सहमति गरेर सरकारलाई चुनावको मिति तोक्न सिफारिस गर्ने बताए  ।
‘जेठ २० गते हामी सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने वातावरण बनाइदिन्छौ । मिति तोक्न बैठकले मन्त्रिपरिषद्लाई निश्चित मार्गनिर्देश गर्छ,’ गच्छदारले भने, ‘एक साताभित्र निर्वाचनको मिति घोषणा हुनुपर्छ र हुन्छ ।’ उनले थ्रेसहोल्ड राख्नुपर्ने भए पनि थ्रेसहोल्डकै कारण साना दलहरू चुनावमा भाग नलिने अवस्था भएकाले संविधानसभालाई समावेशी बनाउन यसलाई हटाउनुपर्ने बताए ।
नेकपा–माओवादीले अघि सारेको सरकारको बर्खास्त, गोलमेच सम्मेलनबाट नयाँ सरकारको गठनलगायत कुनै पनि माग पूरा हुनसक्ने खालका नभएको स्पष्ट पार्दै उनले पूरा हुन नसक्ने माग राख्नु निर्वाचन हुन नदिने षड्यन्त्र भएको आरोप लगाए । ‘लोकतन्त्र चाहने दल निर्वाचनबाहिर रहन सक्दैन । बाहिर हुने दल आफैँ सकिन्छ,’ उनले भने ।
मंसिर पहिलो साताभित्र संविधानसभाको निर्वाचन हुने विश्वास व्यक्त गर्दै गच्छदारले निर्वाचनको मिति घोषणा भएपछि आफैँ वातावरण बन्दै जाने दाबी गरे । मधेसमा एउटै पार्टी भएर चुनाव लड्ने सम्भावना अत्यन्तै न्यून रहेको स्पष्ट पार्दै गच्छदारले साना दललाई आफूमा मर्ज गराएर मर्ज नहुने मधेसवादी दलहरूसँग तालमेल गरेर चुनाव लड्ने दाबी गरे । ‘मधेसमा एक पार्टी बनाउने सम्भावना अत्यन्तै न्यून छ । मधेसवादी दलहरूसँग तालमेल र मर्ज हुनसक्छ,’ गच्छदारले भने ।
एमाओवादीसँग चुनावी तालमेलको विषयमा कुनै कुराकानी नभएको भन्दै उनले मधेसी दलहरूको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कायमै रहेकाले नयाँ मोर्चाको आवश्यकता नभएको दाबी गरे । ‘अब मोर्चा सक्रिय हुन्छ । छिट्टै यसको बैठक बसेर निर्वाचनको रणनीति तय गर्छ,’ गच्छदारले भने ।

प्रतिक्रिया