कमलरीको आन्दोलन चर्किंदै

देउखुरी, १८ जेठ । कमलरी सिर्जना चौधरी र मेघी चौधरीको रहस्यमय मृत्युको छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै राजधानीमा आन्दोलन चर्किरहेका बेला दाङसहित तराईका पाँच जिल्लामा पनि आन्दोलन चर्किन थालेको छ । दाङलगायत पश्चिम तराईका ५ जिल्लाका मुक्त कमलरी शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् ।
काम गर्ने ठाउँबाटै कमलरी बेपत्ता हुँदासमेत सरकारले चासो नदिएको भन्दै मुक्त कमलरीले जिल्ला प्रशासन कार्यालय दाङमा चार दिन धर्नामा बस्ने बताएका छन् । ‘हाम्रा मागमाथि सरकार गम्भीर छैन, त्यसैले दबाब दिन राजधानीसहित जिल्ला सदरमुकाममा पनि आन्दोलन चर्किंदै छ,’ संयुक्त संघर्ष समितिकी संयोजक उर्मिला चौधरीले भनिन्, ‘माग पूरा नहुँदासम्म हामी आन्दोलन स्थगन गर्दैनौँ ।’ मृतक कमलरी बालिका सिर्जना र मेघी चौधरीका मालिक युवराज पौडेल, शंकर अधिकारी र बालकृष्ण शाहलाई कर्तव्य ज्यानमा र सिर्जनाको ओसारपसारमा संलग्न लालमणि शर्मा, पार्वती गिरी र युवराज पौडेललाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने, हालसम्म उद्धार हुन बाँकी रहेका कमलरी शारीरिक, मानसिक, यौनिक रूपमा जोखिममा रहेकाले उनीहरूलाई तत्काल उद्धार गरी उचित रूपमा पुन:स्थापना गरी बालश्रमिक राख्नेलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, कमलरी पुन:स्थापनाका लागि निर्देशिका संशोधन गरी छात्रवृत्ति रकम अति न्यून भएकाले तत्काल बढाएर सीप विकासका लागि ३ देखि १८ महिनासम्मको तालिमको व्यवस्था गर्नुपर्ने, मुक्त भएका कमलरीलाई परिचयपत्र वितरण गर्नुपर्ने, कमलरी मुक्तिको घोषणा गरी कमलरी पुन:स्थापनाका लागि छुट्टै ऐनको व्यवस्था गरिनुपर्ने र डेरा गरी बस्नुपर्ने कमलरीका लागि आवासीय छात्रावासका लागि बजेट बिनियोजन गर्नुपर्ने माग गरिएको छ । शुक्रबारदेखि दाङसहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा धर्ना बसेको र ४ दिनसम्म कार्यालय समयमा जारी रहने एफएनसीका सहायक प्रबन्धक पूर्णप्रसाद चौधरीले जानकारी दिए । राजधानीमा भने कमलरीले १४ गतेदेखि नै धर्ना दिँदै आएका छन् । धर्ना दिएको ७ दिनसम्म पनि आफ्ना माग सुनुवाइ नभए जेठ २१ गतेदेखि तराईका २२ जिल्ला अनिश्चितकालीन बन्द र आमहडताल गर्ने कमलरी प्रथा उन्मूलन संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।

प्रतिक्रिया