नाम्चे र खुम्जुङ विद्युतविहीन

सोलुखुम्बु : जिल्लाको पर्यटकीय बजार नाम्चे र खुम्जुङमा विद्युत् सेवा दिइरहेको खुम्बु विद्युत् कम्पनी (केबिसी)ले आयोजना मर्मत र क्षमता थप गर्न सेवा बन्द गरेपछि त्यो क्षेत्र विद्युत्विहीन भएको छ ।
कम्पनीले १३ जेठदेखि आगामी चार महिनासम्मका लागि आफ्नो उत्पादन बन्द गरेर क्षमता विस्तारको काम थालेको केबिसीका पेम्बा शेर्पाले बताए । केबिसीले विद्युत् सेवा बन्द गरेपछि अहिले सगरमाथाको प्रवेशद्वार नाम्चे तथा खुम्जुङ भ्याली, खुन्दै, स्याङबोचेलगायत स्थानका ८ सयभन्दा बढी घरधुरी अँध्यारोमा परेका छन् ।
विद्युत् सेवा बन्द हँुदा टेलिभिजनलगायत विद्युतीय उपकरण र हिटर बालेर खाना बनाउने काम बन्द भएको छ । विद्युत् सेवा बन्द भएसँगै त्यस क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ । जेनेरेटरबाट टेलिफोन सेवा सञ्चालन गर्नुपरेपछि अहिले नेपाल टेलिकमले बिहान १० बजेदेखि साँझ ८ बजेसम्म मात्र सञ्चारसेवा उपलब्ध गराउन थालेको छ । त्यसभन्दा अन्य समयमा नाम्चे तथा खुम्जुङवासी सञ्चार सेवाबाट पनि वञ्चित भएका छन् । त्यस्तै, पर्यटकीय बजार नाम्चेमा विद्युतीय जेनेरेटरबाट पानी तानेर धारामा वितरण भई आएकामा विद्युत् बन्द भएपछि बजारवासीले केही तल रहेको धाराबाट पानी बोक्न थालेका छन् । यसरी विद्युत् सेवा बन्द भएसँगै अहिले नाम्चेमा अँध्यारो भएको त छँदै छ, खानेपानी र सञ्चारसेवाबाट समेत वञ्चित भएका छन् ।
६ सय ३० किलोवाट क्षमताको खुम्बु विद्युत् कम्पनीबाट हाल ५ सय ६० किलोवाट मात्र उत्पादन भइरहेको छ । अब आयोजनाको मर्मत तथा क्षमता विस्तारसमेत गरी ९ सय ३० किलोवाट बनाइने शेर्पाले जानकारी दिए । भारतीय दूतावासको पाँच करोड अनुदान सहयोग र कम्पनीको लगानीसमेत गरी करिब साढे ९ करोडको अनुमानित लगानीमा आयोजनाको क्षमता काम विस्तार थालिएको छ ।

प्रतिक्रिया