स्ववियु चुनाव स्थगित

काठमाडौ १७ जेठ । विद्यार्थी संघ/संगठनबीचको विवादका कारण आगामी २३ जेठमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । चार वर्षपछि हुन थालेको चुनाव विद्यार्थी संगठनबीच एकमुष्ट भर्नाका विषयमा सहमति हुन नसकेपछि मुखैमा आएर स्थगित भएको हो ।
बचुनावको मुखमा फर्जी भर्नाका विवादका कारण क्याम्पसहरूमा ताला लगाइएपछि त्रिभुवन विश्वविद्यालयले चुनाव हुन नसक्ने भन्दै बिहीबार स्थगित गरेको हो । त्रिविले सूचना प्रकाशित गरी अर्को मिति घोषणा नभएसम्मका लागि चुनाव स्थगित गरेको जानकारी गराएको छ ।
बिहीबार त्रिवि पदाधिकारी र चार विद्यार्थी संगठनबीच भएको बैठकमा  फर्जी विद्यार्थीका बारेमा सहमति जुटाउन अन्तिम प्रयास गरिएको थियो । तर, छलफल सहमतिमा नपुगेपछि त्रिविले चुनाव स्थगित गर्ने निर्णय गरेको हो । त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले विद्यार्थी संगठनबीच फर्जी भर्नाबारे सहमति हुन नसक्दा चुनाव स्थगित गर्नुपरेको बताए ।
चुनावका लागि बिहीबार उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम रहेको थियो । ‘विद्यार्थीबीच फर्जी भर्नाको बारेमा सहमति हुन सकेन । हामीले पनि सहमति गराउने प्रयास गरेका थियौँ’,थापाले भने– ‘विद्यार्थी नेताहरू सहमतिमा पुग्न सकेनन् । मुख्यगरी दुई क्रान्तिकारीका विद्यार्थी नेताहरू सहमत हुन मानेनन् अनि निर्वाचन स्थगित गर्ने निर्णयमा पुगेका हौँ ।’ थापाले फर्जी भर्ना भएका विद्यार्थीको छानबिन गरी नयाँ मिति घोषणा गरिने जानकारी गराए । फर्जी भर्ना विद्यार्थीका सम्बन्धमा त्रिविले सबै क्याम्पसलाई छानबिन गर्न निर्देशन दिने भएको छ ।
पटक–पटक छलफल गरे पनि मुख्यत: दुई क्रान्तिकारीका अडानका कारण सहमति हुन सकेको थिएन । एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र  माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले
खारेजीमा सहमत हुन नसक्दा निर्वाचन स्थगित हुन पुगेको हो । माओवादी निकट क्रान्तिकारीले एकमुष्ट फर्जी विद्यार्थी खारेजी हुनुपर्ने र एमाओवादी निकट क्रान्तिकारी गर्न नहुने पक्षमा अडिए । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ पनि एकमुष्ट विद्यार्थी खारेजीको पक्षमा थिए ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले एमाओवादी निकट क्रान्तिकारीले लगाएको ताला नखोल्दा चुनावको मुखमा आएर निर्वाचन स्थगित गर्नुपरेको बताए । ‘पहिले लगाएका ताला खोल्ने विषयमा छलफल भइरहँदा हिमाल शर्माले पुन: देशभरि ताला लगाउनुभयो’, उनले भने–‘ताला खोल्ने विषयमा छलफल गर्दा सहमति हुन नसकेपछि दुर्भाग्यवस चुनाव स्थगित गर्नुपर्‍यो ।’
विद्यार्थी संगठनबीच फर्जी भर्ना विद्यार्थी विषयमा विवाद हुँदै आएको थियो । रातारात क्याम्पसमा चुनावका लागि एनेकपा माओवादी निकट अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संघले फर्जी विद्यार्थी भर्ना गरेपछि  माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले खारेजीमा माग गर्दै ताला Tuलगाएको थियो ।
क्रान्तिकारीले  त्रिवि, आरआर, महेन्द्ररत्न, सानोठिमीलगायत मुख्य क्याम्पसमा तालाबन्दी गरेको थियो । त्यस्तै एमाओवादी निकट अखिल क्रान्तिकारीले पहिले लगाइएका ताला खोल्नुपर्ने माग राख्दै सोमबार देशभरिका क्याम्पसका निर्वाचन कार्यालयमा पुन: सोमबारदेखि तालाबन्दी गरेका थिए ।
नेविसंघका प्रवक्ता युपी लामिछानेले एमाओवादी निकट क्रान्तिकारीका  कारण निर्वाचन स्थगित गर्नु परेको बताए । उनले सबै संगठन एकमुष्ट भर्ना खारेजी गर्ने पक्षमा रहे तापनि क्रान्तिकारीले नमानेपछि चुनाव हुन नसकेको बताए । ‘एकमुष्ट भर्ना गरिएका त्रिवि र आरआरलाई थाती राखेर चुनाव गरौँ भन्दा पनि हिमालजी मान्नु भएन । पहिला ताला खोल्नुस् भन्दा पनि मान्नुभएन’, उनले भने– ‘अनि अर्को सूचना नआउँदासम्म निर्वाचन स्थगित गर्नु परेको हो ।’
निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी विद्यार्थीहरू पनि चुनावी प्रचारप्रसारमा लागेका थिए । एमाओवादी निकट क्रान्तिकारीले त देशभरिका एक सय ११ क्याम्पसमा उम्मेदवारीसमेत घोषणा गरिसकेको थियो भने अन्य संगठन पनि उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका थिए । निर्वाचन नहुने भएपछि संगठनको चुनाव प्रयोजनका लागि गरिएका भर्नाको लाखौँ रुपियाँ डुब्ने भएको छ ।
संगठनहरूले चुनाव घोषणा लगत्तै रातारात हजारौँ नक्कली विद्यार्थी भर्ना गरेका थिए । एमाओवादी निकट अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघले चुनाव जित्नका लागि लाखौँ खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरेका थिए । मुख्यत: त्रिवि केन्द्रीय क्याम्पस, आरआर, महेन्द्ररत्न, नेपाल कर्मश क्याम्पस, त्रिचन्द्र क्याम्पसमा संगठनहरूले लाखौँ खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरिएका थिए ।
एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले वैद्य निकट क्रान्तिकारीले ताला लगाएका कारण निर्वाचन स्थगित गर्नु परेको आरोप लगाए । ‘हामीले पहिले लगाएका ताला खोलेपछि सबै ताला खोल्छौँ भनेका थियौँ तर उहाँले मान्नुभएन’, शर्माले भने–‘त्रिविले पनि ताला खोल्ने पहल गरेन । ताला नखुलेसम्म निर्वाचन गर्ने कुरा भएन ।’
शर्माले फर्जी विद्यार्थीबारे छानबिन गरौँभन्दा नमानेपछि निर्वाचन स्थगित गर्नु परेको दाबी गरे । ‘हामीले फर्जी भर्ना भएका विद्यार्थीबारे छानबिन गरौँ भन्यौँ’, उनले भने– ‘तर उहाँहरू सिधै छानबिन नगरी खारेजी गर्नुपर्छ भन्ने अडानमा रहेपछि सहमति हुन सकेन ।’
माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले फर्जी विद्यार्थी खारेजी गर्न सहमति नभएपछि चुनाव स्थगित हुन पुगेको जानकारी गराए । ‘लाखौँ पैसा खर्च गरेर नक्कली विद्यार्थीलाई भर्ना गरेर स्ववियुलाई कब्जा गर्ने तयारी थियो । यो मान्य थिएन’, उनले भने–‘रातारात गरिएका भर्ना खारेज गर्न सहमति नभएपछि कसरी गर्ने चुनाव?’
चार वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन त्रिवि पदाधिकारीको बैठकले चैत्र २४ गते घोषणा गरेको थियो । पहिलोपटक जेठ १३ घोषणा गरेका स्ववियु निर्वाचन शिक्षक सेवा आयोग र लोक सेवा आयोगका कारणले विद्यार्थी संगठनहरूको आग्रहमा २३ जेठका लागि सारिएको थियो । मिश्रित प्रणालीमा हुन थालिएको निर्वाचन अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष र सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिकमा निर्वाचन हुने भएको थियो ।
०३६ सालबाट हुन थालेको स्ववियु निर्वाचन यसअघि पछिल्लोपटक ०६५ चैत्रको पहिलो हप्ता भएको थियो । त्यसपछि ०६७ मा हुनपर्ने चुनाव प्रणालीका विषयमा सहमति हुन नसक्दा भएको थिएन ।
चुनावको माग गर्दै अनशन
काठमाडौं : तोकिएकै मितिमा स्ववियु चुनावको माग गर्दै अनेरास्ववियु र नेवि संघका कार्यकर्ताहरू अनशनमा बसेका छन् । स्ववियु चुनाव स्थगित गरिएपछि काठमाडौंको सरस्वती क्याम्पसमा उनीहरूले अनशन थालेका हुन् ।
त्यस्तै निर्वाचन स्थगित भएको विरोधमा विभिन्न क्याम्पसमा विद्यार्थीले आन्दोलन थालेका छन् । चुनाव स्थगित भएपछि आक्रोशित विद्यार्थीले  दिउँसोदेखि चुनाव गराउन माग राख्दै नाराजुलुस गरेका छन् । विद्यार्थीले क्याम्पस अगााडि टायर बाल्दै निर्वाचन निर्धारित समयमा हुनुपर्छ भन्ने माग गर्दै नारा जुलुस गरेका हुन् ।
दिउँसोदेखि नै राजधानीका शंकरदेव, नेपाल ल, नेपाल कर्मस, त्रिचन्द्र, आरआर, अमृत साइन्स, पद्मकन्या क्याम्पसअगाडि विद्यार्थीहरूले टायर बाल्दै चुनाव गराउन नसक्ने क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग गरे । आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुखको कोठामा तालासमेत लगाएका छन् ।
यसैबीच शंकरदेव क्याम्पसमा स्ववियु सभापति बस्ने कारण दिनभरि क्याम्पसमा तनाव रहेका थिए । विद्यार्थी नेतृ राधिका खतिवडाले न्यूनतम विषयमा साझा सहमति गर्न नसक्ने संगठनहरूको नालायकिपनका कारण स्ववियु निर्वाचन नभएको बताइन् । उनले मुखमा आएर निर्वाचन स्थगित हुनु दुभाग्यपूर्ण भएको बताउँदै यसले विद्यार्थीको हकअधिकारमाथि कुण्ठित गरेको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया