धुवाँमुक्त गाविस घोषणा

विदुर, १६ जेठ  । जिल्लाको खरानिटार गाविसलाई घरभित्रको घुवाँमुक्त गाविस घोषणा गरिएको छ । जिल्ला विकास समिति नुवाकोटका ऊर्जा तथा वातावरण अधिकृत उपेन्द्र प्याकुरेलले एक कार्यक्रमबीच सोमबार खरानिटारलाई घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरेका हुन् ।
खरानिटार गाविसमा विभिन्न संस्थाको सहयोगमा ९० प्रतिशतभन्दा बढी घरधुरीमा सुधारिएको चुलो निर्माण सम्पन्न भएकाले धुवाँमुक्त गाविस घोषणा गरिएको आयोजक संस्थाले जनाएका छन् । दुई वर्षअघि नुवाकोटको चतुराले गाविसलाई पहिलोपटक धुवाँमुक्त गाविस घोषणा गरिएको थियो । वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र, ऊर्जा क्षेत्र सहयोग कार्यक्रमको आर्थिक तथा ग्रामीण प्रविधि केन्द्र नेपालको प्राविधिक सहयोग तथा सूर्योदय सामाजिक क्लब र ग्रामीण ऊर्जा प्रबद्र्धन तथा वातावरण संरक्षण केन्द्र नुवाकोटको व्यवस्थापनमा खरानिटार गाविसमा सुधारिएको चुलो निर्माण गरिएको सूर्योदय सामाजिक क्लबका सदस्य सुवास पाण्डेले बताए ।
कार्यक्रममा खरानिटार गाविसमा चुलो निर्माण गर्ने प्रबद्र्धक रामचन्द्र खनाल, कृष्णप्रसाद अधिकारी, रमा तिवारी, इरमान तामाङ र नवराज ढकाललाई पुरस्कृतसमेत गरिएको थियो । यसअघि खरानिटार बजारमा सुधारिएको चुलो प्रबद्र्धनको पक्षमा लेखिएको ब्यानरसहित निकालिएको र्‍यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
खरानिटार गाविसका सचिव रामस्वार्थ यादवको सभापतित्वमा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका ऐनकुमार श्रेष्ठ, नेपाली कांग्रेसका नारायण पाण्डे, जिल्ला विकास समिति नुवाकोटको तर्फबाट नुरप्रसाद दाहाल, ग्रामीण प्रविधि केन्द्रका जैविक ऊर्जा इन्जिनियर रोशन अधिकारी, गैसस महासंघ नुवाकोटका उपाध्यक्ष मीनकुमार केसी, कृषि विकास बैंक खरानिटारका शाखाप्रबन्धक रमेशकुमार अर्याल, सूर्योदय सामाजिक क्लबका उपाध्यक्ष भेषबहादुर पाण्डेलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया