को बन्ला रोलमोडल ?

bishnu-maya-pandey-souryadaभनिन्छ, ‘१२ वर्षमा खोलो पनि फर्किन्छ ।’ विष्णुमाया पाण्डे हिजोआज त्यही महसुस गर्दै छिन् । जीवनको डेढ दशकयता आफ्ना लागि कम मात्रै समय छुट्याइन् उनले । १५ वर्षअघिको जीवनमा पीडाबाहेक केही थिएन । पतिको आकस्मिक मृत्युपछि एकल हुनुको पीडा भोगिन् । रातो पहिरनसँगै चुरा पोते, टिका, सिम्रिक टाढा भए, सँगै थपियो सामाजिक अपहेलना अनि पीडा ।  उनलाई हेर्ने सामाजिक दृष्टिकोण बदलियो ।
पतिवियोगमा विह्वल भएकी महिलालाई समाजले ‘विधवा’ को उपमासँगै अलच्छिनी, बोक्सी भन्ने आरोप थुपारिदिँदा कस्तो अनुभव हुँदो हो ? त्यो सबै परिस्थिति २४ वर्षको युवावस्थामै भोग्नुपर्‍यो विष्णुमायाले । बालक छोरी काखी च्यापेर समाजले एकल हुँदा दिएको पीडालाई आत्मसात् गर्दै उनले जीवनको बाटोलाई परिवर्तन गर्ने अठोट गरिन् । त्यही निर्णय जीवन परिवर्तनको खुड्किलो बन्यो । अहिले विश्वसामु परिचित हुने अर्को खुड्किलोमा छिन् उनी ।
विधवा भएपछि आफूले पाएजस्तै सामाजिक अनि पारिवारिक अपहेलनामा परेका महिलाहरूका लागि काम गरेकी विष्णुमाया अहिले एसियास्तरमा शान्तिको ‘रोल मोडल’ बनेका महिलाहरूको लामो सूचीमा नोमिनेसनमा परेकी छिन् । एसियाका छवटा देशमा सामाजिक अभियन्ता बनेर गाउँदेखि नीतिनिर्माण तहसम्म घचघच्याउन सफल महिलामध्ये ४४ जनाको सूचीमा पाण्डेसहित सात जना नेपाली महिलाको नाम परेको छ ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह मध्यमाञ्चल क्षेत्रकी अध्यक्ष रहेकी विष्णुमायाले अहिलेसम्म २ हजार ५ सय बढी एकल महिलालाई संगठित गराउनुका साथै एक लाखभन्दा बढी एकल महिलालाई रातो लगाउने अभियानमा सहभागी गराइसकेकी छिन् । आफ्नो यो अभियान अनि संघर्षका कथा विश्वसामु चिनाउन विष्णुमाया आफ्ना शुभचिन्तकमार्फत भोट मागिरहेकी छिन् ।
केही वर्षयता ग्रामीण भेगका महिलाहरू सचेतना अनि सशक्तीकरणका मुद्दा बुलन्द बनाउन लागिपरेका छन् । महिलाहरू हिंसाको विरुद्धमा आवाज उठाउन धक मान्दैनन् हिजोआज । बरु गाउँमा स–साना समूह गठन गरेर आ–आफ्नो अधिकार माग्न थालेका छन् । शान्त, स्वस्थ समाजमा आफूले गर्न सक्ने अभियानबारे छलफल चलाउन थालेका छन् । राजनीतिक दलहरूमा सहभागिताको हिस्सा खोज्न थालेका छन् ।
यही अभियान सुरुआत गर्न २० वर्षअघि लागिपरेकी थिइन्, साबित्री भण्डारी । उनलाई लाग्थ्यो– राजनीति समाजको अवस्था दर्साउने पहिलो कडी हो । नेपालका अधिकांश विकास तथा योजनासँग सम्बन्धित महत्वपूर्ण निर्णय राजनीतिक आधारमा नै हुने गरेको छ । तर, राजनीतिक निकायमा तल्लोदेखि निर्णयक तहसम्म पुरुषको बोलवाला छ । यही तितो यथार्थसँग परिचित भएपछि राजनीतिमा महिलाको समान सहभागिताको वकालत गर्दै सावित्री गाउँगाउँका महिलामाझ जान थालिन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र माडीमा जन्मिएकी भण्डारीले महिलाका लागि राजनीतिक अधिकार, सहभागिताको क्षेत्रमा केन्द्रित भएर विकट पहाडी क्षेत्र बाग्लुङ, पर्वत र आफ्नै जन्मभूमि माडीमा पनि काम गरिन् ।
केही वर्षदेखि भने उनी मानवअधिकार, जातीय विभेद र लैंगिक विभेदविरुद्ध केन्द्रित भएकी छन् । कालिका सामुदायिक महिला विकास केन्द्रमार्फत महिला सहभागिताबाट शान्ति निर्माणका लागि राजनीतिक सहभागिताको आवश्यकताका विषयमा पनि आवाज उठाइरहेकी छिन् । ‘महिलाहरूलाई संगठित गराउन उनीहरूको सञ्जाल बनाउन जरुरी छ’, लामो समयको अनुभवपछि उनले सिकेको पाठ । आफ्नो अनुभवमा केन्द्रित भएर उनले आफूले काम गरेको स्थानमा महिला सञ्जाल पनि गठन गरेकी छिन् । राजनीतिक विषयमा केन्द्रित भएर काम गर्दा विभिन्न असहज परिस्थितिको सामना पनि गर्नुपर्‍यो उनले ।
कहिले ज्यानकै धम्की त कहिले ‘आइमाई भएर राजनीतिका कुरा गरी’ भन्नेजस्ता अपव्याख्यालाई सहँदै उनले गरेको संघर्षलाई बीस वर्षपछि विश्वले बुझ्ने मौका पाएको छ । विष्णुमायाजस्तै सावित्रीलाई पनि युएनडिपीको एसिया प्रशान्त क्षेत्रीय केन्द्रले एसियामा शान्ति र समानताको लागि काम गरिरहेका शान्ति रोल मोडलको अवार्ड २०१३ का लागि प्रतिस्पर्धीका रूपमा छानेको छ ।
०००
घरपरिवार अनि समाजले दिएको यातना र हिंसाबाट मुक्त भई न्यायप्राप्तिका लागि नेपाली महिलाले गर्नुपर्ने संघर्ष नजिकबाट नियालेकी छिन् शशीकुमारी अधिकारी (राउत) ले । ‘महिलामैत्री न्यायप्रणाली नहुँदा न्यायालय नपुग्दै अझ पीडामा पर्छन् नेपाली महिला’  –शशीको बीस वर्षे कानुन व्यवसायी अनुभवले बताएको यथार्थ ।
नेपालको कानुनमा महिलाअधिकारको व्यवस्था उल्लेख भए पनि ग्रामीण तहका महिलासम्म आफ्नो अधिकारबारे जानकारी नै पुगेको छैन । कानुनमा महिलाको पहुँच बढाउन शशीले नेपालका अधिकांश जिल्लाका आमा दिदीबहिनीलाई भेटेकी छिन् । शान्ति निर्माण र अधिकारप्राप्तिका लागि महिलाका विभिन्न कानुनी अधिकारका विषयमा लामो समयदेखि लागेकी उनी पनि एसिया स्तरमा शान्तिको रोल मोडलको उपाधिको दावेदारका रूपमा परेकी छिन् । एन–पिस नेटवर्कअन्तर्गत छनोटमा परेकी शशीले कानुन विषयमा स्नातकोत्तर गरेकी छिन् ।
‘छोरी भएकै कारण’, सीता बुढाले अनुभूति सुनाइन््, ‘आफ्नै परिवारमा पनि एउटी बालिकाले कहिल्यै भाउ पाउँदिनन् ।’ तीस वर्षपछि सीता महिलाअधिकार र सशक्तीकरणका लागि नेतृत्वमा रहेर जुम्ला जिल्लामा काम गरिरहेकी छिन् ।  सशस्त्र द्वन्द्वको समयमा कयौं पटक ज्यान जोखिममा राखेर काम गरिन् उनले । सरकार र द्वन्द्वरत पक्षबाटै ज्यानको धम्की आउँदा पनि नडराई महिला अधिकारको आफ्नो लडाइँ जारी राखिन् ।
जुम्लाको गरिब परिवारमा जन्मिएकी एक बालिका हुनुका कारण उनले छाउपडी बस्नु पर्‍यो । उनको छाउपडी बस्न गरेको इन्कार लागु भएन । न त चाँडो विवाह गर्दिनँ भनेर सुख पाइन् । तर, गाउँमा पुगेको एक संस्थाले दिएको लैंगिक समानताबारेको तालिमपछि उनले आफू पनि विभेदमा परेको महसुस गरिन् । अन्तत: ‘छोरी भएकाले अपहेलनाको सिकारमा अरू महिला नपरुन्’ भनेर त्यस्तो परिपाटीविरुद्ध क्रियाशील भइरहेकी छिन् । उनको यो क्रियाशिलता अहिले सामाजिक सञ्जालभरी फैलिएको छ । एनपिस नेटवर्कको वेबसाइटमा उनको प्रोफाइल हेरेर शान्तिस्थापनाका लागि ‘रोल मोडल’ बनाउन फलोअरहरू लागिरहेका छन् ।
धनकुमारी सुनारले १४ वर्षको उमेरदेखि मजदुरी थालिन् । एक किशोरीले मजदुरी गर्दाको समय हुने सामान्य मानवअधिकारका कुरा पनि उपभोग गर्न नपाइने महसुस गरिन् । ‘अधिकार मागेर होइन खोसेर लिनुपर्छ’ भन्ने पनि त्यति बेला नै बुझिन् उनले । अन्तत: १४ वर्षको उमेरमै मजदुर युनियनमा संगठित भइन् । त्यसपछि लगातार महिला मानवअधिकारका लागि काम गरिरहेकी छिन् । तीस वर्षयता उनी नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि मानवअधिकारको आन्दोलनसम्म सक्रिय छिन् । चार वर्षदेखि भने राष्ट्रिय महिला आयोगमा सदस्य छिन् ।
नेपालमा दलित महिला अझ हिंसामा परेका छन् । आफू दलित समुदायको महिला भएर कथित ‘अछुत’ बनाइँदाको पीडा पनि उनले पटकपटक भोगेकी छिन् । दलित तथा पछाडि पारिएका महिलाको अधिकारका लागि लगातार आवाज उठाएकी धनकुमारीको संघर्षकथाले उनलाई विश्वका संघर्षशील महिलाको सूचीमा आबद्ध गराएको छ । असार ६ गतेसम्म उनको प्रोफाइलमार्फत संघर्षका कथा बुझेका व्यक्तिहरूले भोट गरेर ४४ जना एसियन महिलाका अगाडि पुर्‍याउन सके उनी शान्तिको रोल मोडल स्थापित हुनेछिन् ।
तल्लो तहदेखि नै शान्ति र समानताका लागि काम गरिरहेका सात नेपाली महिलामध्ये संगीता ठाकुर र कमला विश्वकर्मा पनि हुन् । संगीता लामो समयदेखि नेपाली बालबालिकाको अधिकारका लागि लडिरहेकी छिन् भने कमलाले दलित आन्दोलनमा आफूलाई समर्पित गरेकी छिन् । नेपालका पहाडी तथा विकट गाउँमा सक्रिय यी महिलाले कुनै समय प्रतिफल पाउने आशामा महिलाअधिकारको बाटोमा समर्पित  गरेका होइनन् । आफूमाथिको हिंसा महसुस गरी समाजमा लैंगिक रूपमा हुने पारिवारिक, सामाजिक, आर्थिक लगायतका हिंसा अन्त्यका लागि सक्रिय छन् । तर, उनीहरूको लगानशीलताको कथा निकै थोरैले मात्रै सुने/बुझेका छन् । जीवनको लामो समय आफूलाई छायाँमा राखेर नेपाली समाजको रूपान्तरणमा क्रियाशील व्यक्तिको संघर्ष अन्तत: विश्वले चिन्न करै लाग्छ । नेपालका लामो समयदेखि संघर्षशील महिलाका प्रतिनिधि यी सात जना आफ्ना संघर्षका कथा विश्वसामु चिनाउँदै छन् ।
(एनपिस डट नेटको सहयोगमा)

प्रतिक्रिया