उपराष्ट्रपति चीन भ्रमणमा जाने

काठमाडौं, १५ जेठ । उपराष्ट्रपति परमानन्द झा २१ जेठदेखि चीनको साताव्यापी औपचारिक भ्रमणमा जाने भएका छन् ।
सरकारले उपराष्ट्रपति झा २१ देखि २६ जेठसम्म चीनको औपचारिक भ्रमणमा रहने कार्यक्रमलाई अनुमोदन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति झाको चीन भ्रमणलाई अनुमोदन गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए । चीनको कुनमिङमा आयोजना हुने पहिलो ‘साउथ एसिया एक्स्पो’ उद्घाटन समारोहमा सहभागिताका लागि झा त्यसतर्फ जान लागेका हुन् । दक्षिण एसियाली मुलुकसँग आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पो २३ जेठदेखि चार दिनसम्म चल्नेछ ।
यसअघि एक्स्पो उद्घाटन समारोहमा राष्ट्रपति डा. रामवरण यादवले सहभागिता जनाउने गरी परराष्ट्र मन्त्रालयले प्रक्रिया अघि बढाएको थियो । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेट सम्भव हुन नसकेपछि राष्ट्रपति डा. यादवको चीन भ्रमण रोकिई उपराष्ट्रपतिलाई पठाइन लागेको स्रोतले जनाएको छ ।
बैठकले २५ असारदेखि चीनमा हुने एसियाली मुलुकका लागि जनसंख्या तथा विकासको रणनीतिसम्बन्धी मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई पठाउने निर्णय पनि गरेको छ । त्यस्तै, ६ असारदेखि दुई दिन जेनेभामा हुने सार्वजनिक लेखा परीक्षणसम्बन्धी क्षेत्रीय बैठकमा महालेखा परीक्षक भानुप्रसाद आचार्यले भाग लिने भएका छन् । आचार्यले २७ जेठदेखि गर्ने बेलायतको लेखा प्रणालीको अध्ययन भम्रण कार्यक्रमलाई पनि बैठकले स्वीकृत गरेको छ । यसैगरी, एसियाली मन्त्रीस्तरीय भ्रष्टाचारविरोधी सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशवप्रसाद बडाललाई पठाउने निर्णय भएको छ ।
मन्त्री पौडेलका अनुसार नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सरसफाइ अभियान दलका तर्फबाट आयोजना हुने सम्मान कार्यक्रमका लागि भारतीय स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणमा आमन्त्रण गर्ने निर्णय पनि भएको छ । सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका औषधि व्यवस्था विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, केही स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्यचौकीका संगठन तालिका हेरफेर तथा दरबन्दी स्वीकृत गरिएको छ ।

प्रतिक्रिया