गणतन्त्रको सम्मानमा अटाएनन् नेताहरू

काठमाडौं, १५ जेठ । राष्ट्रपति डा. रामवरण यादवले आज यस वर्ष विभिन्न मानपदवीबाट विभूषित हुन लागेका १ सय ८९ व्यक्तिको नाम घोषणा गर्ने भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा अन्तरिम संविधानको धारा १५२ अनुसार राष्ट्रपति डा. यादवले छैटौं गणतन्त्र दिवसका असवरमा विभूषण, मानपदवी तथा अलंकार पाउने व्यक्तिहरुको नाम आज घोषणा गर्न लागेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभूषण प्रदानसम्बन्धी निर्णयलाई राष्ट्रपतिले मंगलबार नै सदर गरिसकेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यसपटक नेपाल रत्न, राष्ट्रगौरव र महाउज्ज्वल राष्ट्रदीप विभूषण प्रदान नगरिने भएको छ । विभूषण तथा मानपदवीको चौथो तहमा रहेको सुकीर्तिमय राष्ट्रदीपबाट ६ जना विभूषित हुने भएका छन् । मानपदवीबाट १५६, अलंकारबाट १३, पदकबाट २० जना विभूषित हुँदै छन् । भाषा, साहित्य, कला, संस्कृति, नाटक र विज्ञान प्रविधिबाट १३, उद्योग, वाणिज्य र पर्यटन विकासका क्षेत्रमा ७, शिक्षा ५, समाजसेवा ५, सञ्चार र पत्रकारितामा ५, खेलकुद ५, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रबाट ११ र बाकी राष्ट्रसेवाका राष्ट्रसेवकहरु रहेको स्रोतले जनाएको छ । यीमध्ये पहिलो नम्बरमा सुकीर्तिमय राष्ट्रदीप कलाकार तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति किरण मानन्धरले पाउने भएका छन् । त्यस्तै प्रधानसेनापति गौरव शमशेरले सुकीर्तिमय राष्ट्रदीप पाउदै छन् । उनले २०६७ मा सुप्रबल जनसेवाश्री मानपदवी पाएका थिए । क्रिकेटर पारस खड्काले पनि दोस्रोपटक सुप्रबल जनसेवाश्री पाउदै छन् । पिएन क्याम्पस पोखराका संस्थापक जर्जोनले पनि मानपदवी पाउने भएका छन् । हुलाकीतर्फ प्रताप गिरी पनि पदक पाउने सूचीमा छन् । आस्ट्रिच फार्म रुपन्देहीका प्रबन्ध निर्देशक सिपी शर्मालाई विकास रत्न पदक दिइदै छ । सबैभन्दा बढी उमेरका १०१ वर्षीय स्वामी चेतानन्द गिरीलाई सुप्रबल जनसेवाश्री र कम उमेरका १४ वर्षीय श्रीष गुरुङले सुकीर्ति पदक पाउने भएका छन् । ज्येष्ठ नागरिक मीनबहादुर शेरचन, २१ पटक सगरमाथा आरोहण गरेका फुर्पा टासी शेर्पा, अभिनेता राजेश हमाल, गायक राजु परियार, गायिका अञ्जु पन्तले पनि मानपदवी पाउदै छन् ।
यसपटक विभूषणको सूचीमा कुनै पनि राजनीतिक दलका नेताहरु परेका छैनन् । यसअघि २०६७ मा गणेशमान सिंहलाई मरणोपरान्त सर्वोच्च पदक नेपाल रत्न पाएका थिए । त्यस्तै २०६९ मा मरणोपरान्त नै कृष्णप्रसाद भट्टराईलाई राष्ट्रगौरवबाट विभूषित गरिएको थियो । राजनीतिक व्यक्तिलाई विभूषित तुल्याउदा विवादमा आउने देखेर पूर्वप्रशासक सम्मिलित सरकारले त्यस्ता कुनै पनि व्यक्तिलाई सूचीमा नपारेको स्रोतले जनाएको छ । स्रोतका अनुसार विभूषण मानपदवी तथा अंलकार मंसिरतिर समर्पण गरिनेछ ।

‘गणतन्त्र संस्थागत गर्न चुनाव’
काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि समयमै संविधानसभाको दोस्रो चुनाव गर्नुपर्ने बताएका छन् ।
छैटौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डा. यादवले देशवासीका नाममा दिएको शुभकामना सन्देशमा कात्तिक/मंसिरभित्र स्वतन्त्र, स्वच्छ र निर्भिक वातावरणमा चुनाव गरेर लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण हुनुपर्ने उल्लेख गरेका छन् । ‘सफल जनआन्दोलन र ठुल्ठूला परिवर्तन गर्नसक्ने तर तिनका उपलब्धिको जगेर्ना गर्न नसक्ने अवस्था हामीकहाँ किन दोहोरिरहन्छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी सन्देशमा भनिएको छ, ‘गणतन्त्र दिवसको अवसरमा विशेषत: राजनीतिक नेतृत्व र बुद्धिजीवी वर्गलाई यो प्रश्नमा गम्भीर भएर सोच्न आग्रह गर्दछु ।’
संविधानसभा चुनावबारे प्रशस्त बहस, छलफल गरिसकेकाले काम गरेर देखाउनुपर्ने स्पष्ट पार्दै राष्ट्रपतिले जनताले खोजेको राजनीतिक स्थायित्व र लोकतान्त्रिक संविधानको सपना साकार पार्न राजनीतिक दललाई गम्भीर हुन आग्रह गरेका छन् । ‘नेपाली जनताको सुन्दर भविष्य सुनिश्चित गर्नका लागि अहिले गरिनुपर्ने एउटै काम हो– स्वतन्त्र, स्वच्छ र निर्भिक वातावरणमा संविधानसभाको चुनाव र त्यस सभाबाट जनभावनाअनुकूलको लोकतान्त्रिक/गणतान्त्रिक संविधानको निर्माण,’ सन्देशमा भनिएको छ ।
झन्डै ६ दशक लामो संघर्ष र बलिदानपश्चात् गठित पहिलो संविधानसभा भंग भएको पनि एक वर्ष बितिसकेको र यस अवधिमा राष्ट्रिय गन्तव्य र त्यहाँसम्म पुग्ने मार्ग ठम्याउन हम्मे परेको सन्देशमा उल्लेख छ । जनताले ठूलो बलिदानका साथ गरेको ०६२/६३ को आन्दोलनका उपलब्धिलाई पनि संस्थागत गर्न नसकेकोमा दुखेसो गर्दै उनले सन्देशमा यस्ता राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकेकै कारण मुलुकले समुन्नतिको भरपर्दो मार्ग अवलम्बन गर्न नसकिरहेको जनाएका छन् ।
यसैबीच, सरकारले गणतन्त्र दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आह्वान गरेको छ । गृह मन्त्रालय गणतन्त्र दिवस मूल समारोह समितिले एक सूचना जारी गरी आज सैनिक मञ्च टुँडिखेलमा हुने समारोहमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया