कांग्रेसको दोलखा कार्यसमितिमा युवाको वर्चस्व

दोलखा, १४ जेठ । नेपाली कांग्रेस दोलखाले जिल्ला कार्य समितिलाई पूर्णता दिँदै १७ सदस्सीय कार्य सम्पादन समिति गठन गरेको छ । कांग्रेस दोलखाको १२आँै जिल्ला अधिवेशनले निर्वाचित गरेको कार्य समितिमा १४ जना मनोनित गरिएको छ । तीन वर्षअघि अधिवेशन सम्पन्न भएपछि शनिबारदेखि सदरमुकाम चरिकोटमा चलेको जिल्ला समिति बैठकले मनोनयन तथा समिति विस्तार गरेको हो ।
दोलखा कांग्रेसले अधिवेशनको झण्डै तीन वर्षपछि विस्तारित जिल्ला समितिमा युवाको बर्चश्व देखिएको छ । विस्तारित समितिका पदाधिकारी र महत्त्वपूर्ण जिम्मेवारीमा अधिकांश युवाले पाएका छन् । यस्तै, बैठकले निर्माण गरेका २५ वटा विभागमा समेत युवालाई नै प्राथमिकता पाएका छन् ।
नेविसंघ पूर्वजिल्ला अध्यक्ष सन्तोष रिमाल पार्टी सचिवमा ल्याइएका छन् । यस्तै युवा चरित्रकुमार बम्जन सहसचिव बनाइएका छन् । उनीहरू दुवै गत अधिवेशनबाट जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । कृष्णबहादुर खड्का उपसभापतिमा मनोनीत भएका छन् । पूर्वजिल्ला सभापति उद्धवराज काफ्लेदेखि युवा नेता निशान वान्तवा, तरुण दलका जिल्ला अध्यक्ष जयराम श्रेष्ठ, विद्यार्थी नेता विराजमान श्रेष्ठ पनि मनोनीतमा परेका छन् । मनोनयनसँगै जिल्ला कार्य समिति ३१ सदस्य भएको छ ।
यस्तै, पार्टीले सभापति ताराबहादुर कोइरालाको नेतृत्वमा १७ सदस्य कार्यसम्पादन समितिसमेत गठन गरेको छ । सबैलाई सामूहिक रूपमा पार्टी चलाउन उद्घोष गरेको दोलखा कांग्रेसले अग्रज र बुद्धिजीविलाई सल्लाहकार समितिमा राखेको छ भने युवालाई जिल्ला समिति, आमन्त्रित जिल्ला समितिदेखि विभागीय प्रमुखमा मनोनयन गरेर जिम्मेवारी दिएको छ ।
‘कांग्रेस बूढाको मात्र पार्टी हो भन्ने भ्रम चिर्न अग्रजदेखि युवा, विद्यार्थी बुद्धिजीवि सबैलाई समेटेर जिम्मेवारी दिएका छौँ,’ सभापति कोइरालाले सौर्यसँग भने,  ‘त्यसमा युवाको जमात बढी छ ।’ कोइरालाले युवालाई उपयुक्त स्थान दिएर कांग्रेसलाई जिल्लाको पहिलो पार्टी बनाउने बताए ।

प्रतिक्रिया