जिल्लास्तरीय विद्यालय खेलकुद सुरु

काठमाडौं : ललितपुर जिल्ला खेलकुद विकास समितिको संयोजन तथा हिसान, प्याब्सन र एनप्याब्सनको संयुक्त आयोजनामा ललितपुर जिल्लास्तरीय खेलकुद आइतबारदेखि सुरु भएको छ । राजधानीमा यसै महिनाको अन्तिम साता हुने प्रथम राष्ट्रिय विद्यालय खेलकुद २०७० को क्षेत्रीय खेलकुदका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको जुब्ली भवनमा भएको कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगेन्द्र घिसिङ, हिसानका अध्यक्ष उमेश श्रेष्ठ, प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेल र एनप्याब्सनकी अध्यक्ष गीता राणाले वरिष्ठ भलिबल प्रशिक्षक शान्ति गुरुङलाई खेल सामाग्री हस्तान्तरण गरी संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे । प्रतिस्पर्धा सोमबारदेखि सुरु भई बिहीबारसम्म चल्नेछ । सोमबार पुल्चोकस्थित मदन स्मारक स्कुलमा छात्र भलिबलको खेल हुनेछ ।
भलिबलसहित एथलेटिक्स, फुटबल, बास्केटबल, तेक्वान्दो, कबड्डी, उसु, कराते, क्रिकेट र बुद्धिचाल गरी १० खेलमा प्रतिस्पर्धा हुने समितिका कार्यालय प्रमुख सुजन खतिवडाले जनाएका छन् । खेलकुदमा ४८ विद्यालय सहभागी छन् ।
विद्यालय तहदेखि नै खेलकुदको विकास गर्न सके मात्र राष्ट्रिय खेलकुदको विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ राष्ट्रिय खेलकुद परिषद्ले विद्यालय खेलकुदको अवधारणालाई अगाडि सारेको हो ।

प्रतिक्रिया