प्रतिगमनकारीलाई फाइदा : प्रचण्ड

काठमाडौं, १३ जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चुनावको मिति छिटो घोषणा गर्न जति ढिला गर्‍यो उति धेरै प्रतिगमनकारीलाई फाइदा पुग्ने बताएका छन् ।
कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चुनावको मिति घोषणा नहुँदा प्रतिगमनकारीलाई फाइदा पुगिरहेको बताए । प्रतिगमनकारीको चलखेल बढ्दै जाँदा त्यसले चुनावलाई अप्ठ्यारोमा पार्ने चिन्ता पनि व्यक्त गरे ।
‘त्यसैले छिटोभन्दा छिटो मिति घोषणा गरेर चुनावमा जानुको विकल्प छैन,’ दाहालले भने । मिति
घोषणा र निर्वाचन ऐनका विषयमा देखिएका विवादबारे आइतबार
सरकार र दलहरूबीच छलफल भए पनि सहमति हुन नसकेको उनले बताए । चाँडै दलहरूबीच सहमति गर्न प्रयास जारी रहेको उनले बताए ।
०६४ सालमा भएको सहमतिकै आधारमा दोस्रो संविधानसभाको चुनाव हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले थ्रेसहोल्डलगायत विषयमा विवाद गरे चुनाव नै नहुने अवस्था आउनसक्ने बताए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष बाबुराम भट्टराईले चुनावलाई नै केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए । मुलुकलाई निकास दिन चुनाव एक मात्र विकल्प भएकाले सबैको ध्यान त्यता केन्द्रित हुनुपर्ने र विवादित विषय तत्काल समाधान गरी चुनावतर्फ अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया