ग्यास उपभोक्ता मारमा

जनकपुर : नोबेल ग्यास कम्पनीको व्यवस्थापन तथा ग्यास बिक्रेताबीच भएको सम्झौता कार्यान्वयन नहुँदा नोबेल ग्यासका उपभोक्ता मारमा परेका छन् । धनुषाको नकटाझिझस्थित नोबेल ग्यास ºयाक्ट्री र त्यसका बिक्रेताबीच गत चैत महिनामा भएको सम्झौतामा ºयाक्ट्रीले नियमित ग्यास उपलब्ध गराउने, तौल सही बनाउने, चुहावट रोक्नेलगायतका विषय रहेका थिए । नोबेल ग्यासको व्यवस्थापनले बिक्रेतासँग भएको सम्झौतालाई बेवास्ता गर्दै उनीहरूलाई सिलिन्डरमा दुई सयदेखि तीन सय ग्राम ग्यास कम भएका सिलिन्डर उपलब्ध गराएपछि उपभोक्ता ठगिएका हुन् ।
अर्कोतिर जनकपुर बजारको रामचोक, रामानन्द चोक, मुरली चोक, भानुचोक, मिल्स एरिया, क्याम्पस चोक, विश्वकर्मा चोक, माछा बजारलगायतका ठाउँमा खुला रूपमा व्यापारीले ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास खन्याएर खुद्रामा बेचिरहेको भएपनि सम्झौताअनुसार नोबेल ग्यास कम्पनीले त्यो कार्य रोक्न सकेको छैन ।
व्यापारीले खुद्रामा ग्यास बेच्दा प्रतिकिलो १ सय २५ देखि १ सय ३० रुपियाँ लिने गरेकाले यसमा पनि उपभोक्ता ठगिएको स्थानीयले बताए । सो सम्बन्धमा नोबेल ग्यासका सञ्चालक भैरव क्षेत्रीले कानुनी रूपमा खुद्रा ग्यास बेच्न नपाउने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताए । अनुगमनको जिम्मेवारी लिएका गुणस्तर तथा नापतोल कार्यालय जनकपुरले भने यसमा कुनै प्रतिक्रिया दिन चाहेन । तर, कार्यालयका एक कर्मचारीले भने प्रमुखको उदासीनताका कारण यहाँका बजारमा अनुगमन हुन नसकेको र त्यसबाट व्यापारीको मनोबल बढ्न गएको टिप्पणी गरे ।
नेपालमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा खन्याएर खुद्रा ग्यास बेच्न प्रतिबन्ध गरिएको भए पनि यहाँका केही व्यापारीले गुणस्तर तथा नापतौल कार्यालयका प्रमुखलाई महिनावारी रकम दिएर अवैध रूपमा खुद्रा ग्यास बेच्ने गरेको केही व्यापारीले आरोप लगाएका छन् ।
प्रति सिलिन्डरमा ग्यास १४ दशमलव २ केजी हुनुपर्नेमामा यो ग्यासको सिलिन्डरमा दुई सयदेखि तीन सय ग्राम ग्यास कम रहेको भेटिएको थियो । ग्यास नापतौल दुरुस्त हुनुपर्ने सम्झौता गरिएको भए पनि ग्यास व्यवस्थापन पक्षको लापरवाहीका कारण उपभोक्ता कम तौलको ग्यास लिन बाध्य भइरहेको ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष हरि राउतले बताए । अर्कोतिर व्यापारीहरूले नोबेल ग्यास कम्पनीको जनकपुरस्थित एभरेस्ट बैंकको खाता नम्बर ०३५०५५०१२०००३० मा पैसा जम्मा गरेको लामो समय भइसक्दा पनि कम्पनीले ग्यास उपलब्ध नगराएको गुनासो ग्यास बिक्रेता स्वयंले गरेका छन् ।

प्रतिक्रिया